२२ जेष्ठ काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढावटारमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मुग्लिनबाट डुम्रेतर्फ जाँदै गरेको ना.३ च.९६२२ नम्बरको तरकारी बोकेको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको बा.२ ख. २०७० नम्बरको कन्टेनर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बोलेरो चालक तनहुँको व्यास नगरपालिका–१२ निवासी ३१ वर्षीय सुनिल विक गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ।त्यस्तै बोलेरोमा सवार भानु नगरपालिका–१२ निवासी १९ वर्षीय रितीक अधिकारी पनि घाइते भएका छन्। उनको टाउको तथा दायाँ खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै स्थानीयवासी र प्रहरीको सहयोगमा दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनापछि केही समय सडकमा सवारी आवागमन प्रभावित भए पनि अहिले यातायात सञ्चालन सामान्य अवस्थामा रहेको जनाइएको छ।दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।