२४ जेष्ठ काठमाडौँ ।गोरखा माइती घर भएकी चेली तथा नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको मृत्युको घटनाले यतिबेला देशभर चर्चा र आक्रोश पैदा गरेको छ। सामाजिक सञ्जालदेखि स्थानीय समुदायसम्म घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग उठिरहेको छ।
प्रहरीका अनुसार काठमाडौँ महानगर क्षेत्रअन्तर्गत तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा ४२ वर्षीया ईश्वरी भुजेल मृत अवस्थामा फेला परेकी हुन्। घटनापछि उनका श्रीमान भनिएका कुमार थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। कुमार थापा मगर सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित छन्।
प्रारम्भिक जानकारीअनुसार भुजेल नेपाली सेनामा कार्यरत थिइन्। उनको स्थायी घर गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–९, नाम्जुङ रहेको बताइएको छ। घटनाको खबर सार्वजनिक भएसँगै गोरखास्थित माईतीपक्ष, आफन्त तथा स्थानीयवासी आक्रोशित बनेका छन्।
पीडितका आफन्तहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि अधिकतम कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। स्थानीयस्तरमा समेत न्यायको माग गर्दै आवाज उठ्न थालेको छ। सामाजिक सञ्जालमा पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनबमोजिम कडा सजाय दिनुपर्ने माग व्यापक रूपमा भइरहेको छ।
आफन्त तथा स्थानीयवासीले पीडितले न्याय पाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले अनुसन्धानलाई प्रभावकारी र पारदर्शी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
यसैबीच, प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ। घटनाको वास्तविक कारण, संलग्नता र परिस्थितिबारे विस्तृत अनुसन्धानपछि मात्रै थप तथ्य सार्वजनिक गरिने प्रहरीको भनाइ छ।घटनाले गोरखासहित देशभरका नागरिकलाई स्तब्ध बनाएको छ भने पीडित परिवारलाई न्याय दिलाउन निष्पक्ष र गहिरो अनुसन्धानको माग थप बलियो बन्दै गएको छ।