२५ जेष्ठ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि ढकाल ले चितवनका सबै ९८ वटै वडामा पार्टीको विजय सुनिश्चित नभएसम्म वास्तविक अर्थमा पार्टीको ‘संख्या’ नपुग्ने बताएका छन्।
आइतबार भरतपुरमा आयोजित रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद ढकालले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जिल्लाका सबै पालिका तथा वडामा पार्टीको सशक्त उपस्थिति आवश्यक रहेको बताए। उनले केन्द्रमा सरकार गठनका लागि आवश्यक संख्या प्राप्त गर्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै स्थानीय तहसम्म परिवर्तनको अनुभूति गराउन पार्टीले जनप्रतिनिधित्व विस्तार गर्नुपर्ने धारणा राखे।
सम्बोधनका क्रममा उनले भने, “हामी केन्द्रमा सरकार गठनका लागि झण्डै दुई तिहाइको संख्यामा पुगे पनि चितवनको हकमा जबसम्म ९८ वटै वडामा हाम्रा वडाध्यक्ष, मेयर र उपमेयरका उम्मेदवारहरूले जित हासिल गर्दैनन्, तबसम्म हाम्रो संख्या पुगेको मान्न सकिँदैन।”
सांसद ढकालले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध रहने स्थानीय सरकारमा रास्वपाको नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिए। स्थानीय तहमा पार्टीको प्रभाव विस्तार गर्न सक्षम, लोकप्रिय र जनउत्तरदायी उम्मेदवार छनोट गर्नुपर्ने उनको भनाइ थियो।
उनले आगामी निर्वाचनलाई लक्षित गर्दै चितवनका सबै ९८ वटै वडामा बलिया उम्मेदवार खडा गरी विजय हासिल गर्ने रणनीतिका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टी संगठनलाई वडास्तरसम्म थप मजबुत बनाउँदै जनताका मुद्दा र अपेक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ढकालले रास्वपाले सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्दै स्थानीय तहमा नयाँ राजनीतिक अभ्यास स्थापित गर्ने लक्ष्य लिएको बताए। उनले आगामी निर्वाचनलाई पार्टीका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाउन आग्रह गरे।