२७ जेष्ठ काठमाडौँ । गोरखा उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यमी विकास समितिको आयोजनामा सञ्चालन गरिएको ५ दिने डल तथा कुसन बनाउने तालिम सम्पन्न भएको छ।
महिलाहरूको सीप विकास, आत्मनिर्भरता तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तालिममा गोरखा नगरपालिका भित्रका ४५ जना महिलाको सहभागिता रहेको थियो।
तालिमका क्रममा सहभागी महिलाहरूले विभिन्न प्रकारका आकर्षक डल (गुडिया) तथा कुसन निर्माण सम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गरेका थिए। प्रशिक्षकहरूको सहजीकरणमा सहभागीहरूले आफ्नै हातले विभिन्न डिजाइनका सामग्री तयार पारेका थिए।
कार्यक्रम आयोजकका अनुसार तालिममा सिकेका सीपलाई व्यवसायिक रूपमा प्रयोग गरी महिलाहरूले घरेलु उद्योग सञ्चालन गर्न तथा अतिरिक्त आम्दानीको स्रोत विकास गर्न सक्नेछन्। तालिमले महिला उद्यमशीलता प्रवर्द्धनसँगै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
तालिमको समापनसँगै सहभागीहरूले आफूहरूले तयार पारेका डल तथा कुसन सामग्रीको प्रदर्शनीसमेत गरेका थिए। प्रदर्शनीमा राखिएका सामग्रीले सहभागीहरूको सिर्जनशीलता, मेहनत र सीपलाई उजागर गरेको थियो।आयोजकले यस्ता सीपमूलक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै महिलाहरूको आर्थिक सशक्तीकरणका लागि थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।