Logo

मंगलवार, श्रावण १२ गते २०८३

धम्की प्रकरणमा गृहमन्त्रीको चासो, संसदमै खुश्बु ओलीसँग भेटेर कारबाहीको आश्वासन

धम्की प्रकरणमा गृहमन्त्रीको चासो, संसदमै खुश्बु ओलीसँग भेटेर कारबाहीको आश्वासन

जोईन खबर

२७, जेठ २०८३
  • 286
    SHARES
  • धम्की प्रकरणमा गृहमन्त्रीको चासो, संसदमै खुश्बु ओलीसँग भेटेर कारबाहीको आश्वासन

    २७ जेष्ठ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई हत्या तथा बलात्कारको धम्की आएको विषय सार्वजनिक गरेपछि गृहमन्त्री सुधन गुरुङले संसदभित्रै उनीसँग भेटेर छलफल गरेका छन्।

    images

    बुधबार बसेको प्रतिनिधिसभा बैठक चलिरहँदा गृहमन्त्री गुरुङ प्रतिपक्षी बेन्चमा पुगेर ओलीसँग कुराकानी गरेका हुन्। भेटका क्रममा उनले धम्की दिने व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने आश्वासन दिएका थिए।

    कुराकानीपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै ओलीले गृहमन्त्रीले धम्की दिनेहरूलाई कारबाही गरिने बताएका जानकारी दिइन्। “तपाईंलाई धम्की दिनेहरूलाई कारबाही गर्छौं भन्नुभयो। मैले कारबाहीको प्रक्रियामा जानुस् भनेँ,” उनले भनिन्।

    ओलीका अनुसार आफूलाई आएका केही धम्कीपूर्ण कल तथा सन्देश विदेशबाट आएको देखिएको छ भने केही अपरिचित व्यक्तिहरूबाट आएका छन्। त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराइएको उनले बताइन्।

    यसअघि प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ओलीले संसदमा सनातन धर्मको पक्षमा तथा जबरजस्ती धर्मान्तरणको विरोधमा धारणा राखेपछि आफूलाई विभिन्न नम्बरबाट हत्या, बलात्कार तथा अन्य अपमानजनक सन्देशहरू आउन थालेको दाबी गरेकी थिइन्।

    उनले सांसदको अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत सुरक्षामाथि प्रश्न उठ्ने गरी धम्की आउनु गम्भीर विषय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्।उक्त विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङले संसदभित्रै ओलीसँग भेट गरी घटनाबारे जानकारी लिएका हुन्। सुरक्षा निकायले धम्कीको स्रोत पहिचान तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :जेठ २७, २०८३ बुधवार - २१:०५:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको