१ असार काठमाडौँ । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै सांसद रमेश प्रसाईं ले आफू खर्च कटौतीका लागि नभई भ्रम कटौती गर्न संसदमा उभिएको बताएका छन्।
उनले बजेटबारे अनावश्यक भ्रम फैलाइएको आरोप लगाउँदै सरकारले किसानलाई बेवास्ता गरेको भन्ने दाबी तथ्यसँग नमिल्ने बताए। पशुपन्छी बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान, बाली बीमामा सहुलियत, रासायनिक मल आपूर्तिको क्यालेन्डर कार्यान्वयन तथा सिँचाइ विस्तारका कार्यक्रमहरू बजेटमा समेटिएको उल्लेख गर्दै उनले प्रश्न गरे, सरकारले किसान देखेन कि प्रतिपक्षले राम्ररी बजेट पढेन
प्रसाईंले सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता, सहकारी पीडितको रकम फिर्ता गर्ने व्यवस्था, मध्यम वर्गलाई आयकर छुट तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमका कारण बजेटलाई समर्थन गरेको बताए। उनका अनुसार यो बजेटले अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्नेछ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता करको बचाउ गर्दै उनले संविधानले प्रत्याभूत गरेको मौलिक अधिकारमा नभई शिक्षा तथा स्वास्थ्य सेवाको व्यावसायिक कारोबारमा कर लगाइएको स्पष्ट पारे। उनले सर्वसुलभ स्वास्थ्य र शिक्षा समाजवाद तथा लोककल्याणकारी राज्यका आधारभूत स्तम्भ भएकाले सार्वजनिक विद्यालय र अस्पतालको गुणस्तर सुधार अपरिहार्य रहेको धारणा व्यक्त गरे।
साथै, शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरणमाथि प्रश्न उठाउँदै उनले सार्वजनिक सेवा सुदृढ नगरी सर्वसुलभ स्वास्थ्य तथा शिक्षाको लक्ष्य हासिल गर्न कठिन हुने बताए।