३ असार काठमाडौँ । सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाएर डर–धम्की दिँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले घटनामा संलग्न एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका – २ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३ असार २ गते उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार रमेशले एक युवतीलाई जंगल क्षेत्रमा लगी खुकुरी देखाएर डर–धम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उक्त भिडियो सार्वजनिक भएसँगै घटनाको अनुसन्धान सुरु गरिएको थियो।
पक्राउका क्रममा रमेशको साथबाट Pregamax १ ट्याब्लेट,Trohmo ४१ Antikop , ब्लतष्पयउ २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
यसैबीच, कुटपिटबाट पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको सुरक्षासहित आवश्यक सहयोगको व्यवस्था गरिएको प्रहरी स्रोतले जनाएको छ।प्रहरीले सामाजिक सञ्जालमार्फत हिंसात्मक गतिविधि प्रदर्शन गर्ने तथा अरूलाई डर–धम्की दिने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।