३ असार काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन ले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयका अनुसार २०८३ असार १ गते मन्त्रीस्तरीय निर्णयबाट डा.सुदिप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउन निर्देशन दिइएको छ।
समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो तथा भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धमा विस्तृत अध्ययन तथा विश्लेषण गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।
उल्लेखित विषयसँग सम्बन्धित विभिन्न निकायमा गुनासो तथा उजुरी परेका कारण ती विषयको यथार्थ अवस्था बुझ्न र मन्त्रालयको आन्तरिक जानकारीका लागि समिति गठन गरिएको जनाइएको छ। समितिले खरिद प्रक्रियाको कानुनी, प्राविधिक तथा आर्थिक पक्षको अध्ययन गरी आवश्यक सुझाव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
नेपाल टेलिभिजनमा पछिल्ला केही वर्षयता प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि गरिएका विभिन्न खरिद प्रक्रियाको पारदर्शिता, प्रतिस्पर्धात्मकता तथा कानुनी प्रक्रियाको पालनाबारे प्रश्न उठ्दै आएका छन्। ती विषय सार्वजनिक बहसको केन्द्रमा रहँदै आएका कारण मन्त्रालयले थप अध्ययन आवश्यक ठानेको बताइएको छ।
यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको थियो। पछिल्लो समितिले आफ्नो अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयका लागि सुझाव दिने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।