५ असार काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाले लामो समयदेखि अलपत्र रहेको गाउँपालिका कार्यालय भवन निर्माणको ठेक्का सम्झौता अन्त्य गरेको छ।
धार्चे गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै ठेक्का नं DRM/NCB/WORKS/02/077/078 अन्तर्गत धार्चे–५ माछिखोलामा निर्माणाधीन गाउँपालिका कार्यालय भवनका लागि निर्माण व्यवसायी BKOI–HEMANTA J.V. चितवन सँग २०७८ वैशाख ५ गते भएको सम्झौता रद्द गरिएको जनाएको हो।
गाउँपालिकाका अनुसार भवन निर्माण कार्य २०७९ माघ २९ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारणले तोकिएको समयसीमाभित्र काम सम्पन्न हुन सकेन। त्यसपछि पहिलो पटक २०८० फागुन २९ गतेसम्म, दोस्रो पटक २०८१ फागुन २९ गतेसम्म र तेस्रो पटक २०८२ फागुन २९ गतेसम्म म्याद थप गरिएको थियो।
तर पटक–पटक म्याद थप गर्दा पनि निर्माण कार्य सम्पन्न नभएपछि गाउँपालिकाले २०८३ जेठ १९ गते १५ दिने सूचना प्रकाशित गरी ठेक्का किन नतोड्ने भन्ने विषयमा निर्माण कम्पनीसँग स्पष्टिकरण माग गरेको थियो।
सूचनापछि निर्माण व्यवसायीले कार्यतालिका (Work Schedule Plan),स्रोत परिचालन योजना तथा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता पेश गरे पनि सम्पूर्ण आधिकारिक प्रतिनिधिहरू कार्यालयमा उपस्थित नभएको गाउँपालिकाले जनाएको छ।
यसै आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९९७० बमोजिम गाउँ कार्यपालिकाको २०८३ असार ४ गते बसेको बैठकले ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार Post Termination Evaluation गरी स्थापित हुने रकम सरकारी बाँकीसरह असुलउपर गरिने कानुनी व्यवस्था रहेको पनि स्पष्ट पारेको छ।
साथै,सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निर्माण व्यवसायी BKOI–HEMANTA J.V. चितवन लाई गाउँपालिकामा सम्पर्क गरी वित्तीय फरफारक प्रक्रिया सम्पन्न गर्न अनुरोध गरिएको छ।निर्माण कार्यमा भएको ढिलाइका कारण स्थानीयवासीले लामो समयदेखि नयाँ प्रशासनिक भवन सञ्चालनमा आउन नसकेको गुनासो गर्दै आएका थिए। गाउँपालिकाले अब बाँकी काम सम्पन्न गर्न आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाउने जनाएको छ।
