७ असार काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्।
रास्वपाले आयोजना गर्न लागेको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ। सोही क्रममा नेपाली कांग्रेसका सभापति थापाले उद्घाटन समारोहमा सहभागिता जनाउने निश्चित भएको रास्वपा स्रोतले जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टी संगठन सुदृढीकरण, भावी राजनीतिक कार्यदिशा तय तथा नेतृत्व चयनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। महाधिवेशनमार्फत पार्टीले आगामी रणनीति, नीति तथा कार्यक्रम तय गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक, पार्टीका प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहने बताइएको छ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र उद्घाटन समारोहलाई भव्य बनाउने तयारी भइरहेको रास्वपाले जनाएको छ।
रास्वपाको प्रथम महाधिवेशनले पार्टीको आन्तरिक संरचना सुदृढ बनाउँदै आगामी राजनीतिक यात्राका लागि नयाँ मार्गनिर्देशन गर्ने विश्वास गरिएको छ।