९असार काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण, तयारी तथा व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताकुकोटस्थित श्री सूर्य ज्योति माध्यमिक विद्यालयमा “विपद् व्यवस्थापन सम्बन्धी सचेतना एवं नमुना अभ्यास प्रदर्शनी कार्यक्रम” सम्पन्न भएको छ।
बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आरुघाट, गोरखाको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, आरुघाट, गोरखाका प्रशिक्षक टोलीले विपद्का समयमा अपनाउनुपर्ने सावधानी, खोज तथा उद्धार, राहत व्यवस्थापन, विपद् पूर्वतयारी तथा समुदायको भूमिकाबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए। प्रशिक्षकहरूले भूकम्प, पहिरो, आगलागीलगायतका सम्भावित विपद्का समयमा सुरक्षित रहने उपाय, आपतकालीन उद्धार प्रक्रिया तथा प्रभावकारी प्रतिकार्यका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।
त्यसैगरी, कार्यक्रममा विपद्का समयमा अपनाउनुपर्ने व्यवहारिक पक्षलाई समेट्दै नमुना अभ्याससमेत प्रदर्शन गरिएको थियो। नमुना अभ्यासमार्फत सहभागीहरूलाई खोज तथा उद्धार, घाइतेको सुरक्षित स्थानमा स्थानान्तरण, प्राथमिक उपचार तथा राहत व्यवस्थापनका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूलाई विपद्का सम्भावित जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने आवश्यक उपायबारे सैद्धान्तिक र व्यवहारिक दुवै प्रकारको जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यालय तथा समुदायस्तरमा विपद् सम्बन्धी सचेतना अभिवृद्धि गर्न, विपद्को पूर्वतयारीलाई प्रभावकारी बनाउन तथा आपतकालीन अवस्थामा समुदायको प्रतिकार्य क्षमतामा वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।