१२ असार काठमाडौं । हाम्रो एकता खेलकुद क्लबको आयोजनामा तथा नेपाल टेलिकमको मुख्य प्रायोजनमा सञ्चालित ‘एकता यु–१६ अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८३’ सफलतापूर्वक सम्पन्न भएको छ।मिति २०८३ जेठ २९ गतेदेखि असार १ गतेसम्म नयाँ बजारस्थित रिभर फिल्ड फुटसल मा सञ्चालन भएको उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न १२ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राम चरित्र मेहता प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, राष्ट्रिय फुटसल टोलीका प्रशिक्षक अनिल गुरुङ को विशेष उपस्थिति रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पिस पोइन्ट स्कुल, मिड बानेश्वर ले उपाधि जित्न सफल भएको छ। विजेता टोलीले नगद रु. ८५ हजार ५५५, मेडल, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको थियो।
त्यसैगरी, एल.आर.आई. स्कुल, कलङ्की उपविजेता बनेको छ। उपविजेता टोलीलाई नगद रु.३५ हजार ५५५, मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी)को उपाधि एल.आर.आई.स्कुलका आशुतोष महतरा ले प्राप्त गरेका छन्। साथै, उत्कृष्ट गोलरक्षकसहित उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाडीहरूलाई पनि शिल्ड र प्रमाणपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार विद्यालय तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने, विद्यार्थीहरूमा खेलप्रतिको आकर्षण बढाउने तथा शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।
नेपाल टेलिकमको मुख्य प्रायोजनमा सम्पन्न उक्त प्रतियोगिताले विद्यालयस्तरमा खेलकुद विकास, प्रतिभा पहिचान तथा नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।