रास्वपाको मनोनीत महामन्त्रीमा गृहमन्त्री सुधन गुरूङको चर्चा, अन्तिम निर्णय सभापति रवि लामिछानेको हातमा
२१ असार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मनोनीत महामन्त्री को बन्ने भन्ने विषय यतिबेला पार्टीभित्र चासोको विषय बनेको छ। गोरखा–१ बाट निर्वाचित सांसद तथा वर्तमान गृहमन्त्री सुधन गुरूङको नाम मनोनीत महामन्त्रीका लागि प्रमुख रूपमा चर्चामा आएको छ।
रास्वपाको विधानअनुसार पार्टीमा दुई जना महामन्त्री रहने व्यवस्था छ। हालै चितवनमा सम्पन्न महाधिवेशनबाट विपिन कुमार आचार्य निर्वाचित महामन्त्री बनेका छन्। अर्को महामन्त्री भने पार्टी सभापति रवि लामिछानेले मनोनयन गर्ने व्यवस्था रहेको छ।
यही मनोनीत महामन्त्री पदका लागि गृहमन्त्री सुधन गुरूङको नाम बलियो रूपमा चर्चामा रहे पनि उनले यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्। पार्टीभित्रका केही नेताहरूले भने संगठन विस्तार, सरकार र पार्टीबीच समन्वय तथा नेतृत्व क्षमताका आधारमा सुधनलाई महामन्त्री बनाइने सम्भावना रहेको बताइरहेका छन्।
महामन्त्री पदका लागि गृहमन्त्री सुधन गुरूङसँगै निवर्तमान महामन्त्री भूपदेव शाह र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको नाम पनि चर्चामा छ। पार्टीभित्र यी नेताहरूको भूमिकाबारे विभिन्न तहमा छलफल भइरहेको बताइए पनि औपचारिक निर्णय भने भएको छैन।
रास्वपाका सभापति रवि लामिछानेले कहिले र कसलाई मनोनीत महामन्त्री बनाउने भन्नेबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन्। त्यसैले पार्टीभित्र मनोनीत महामन्त्रीको विषयलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्।सभापति लामिछानेको निर्णयपछि मात्रै रास्वपाको दोस्रो महामन्त्री को हुने भन्ने टुंगो लाग्नेछ। अहिलेका लागि गृहमन्त्री सुधन गुरूङसहित केही शीर्ष नेताहरूको नाम चर्चामा रहे पनि अन्तिम निर्णय भने सभापतिको मनोनयनबाट मात्र स्पष्ट हुनेछ।