२३ असार काठमाडौँ । सरकारले खाना उपलब्ध गराउन बन्द गरेपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुमवासीहरू आन्दोलनमा उत्रिएका छन्। सोमबार साँझदेखि खाना नपाएको भन्दै उनीहरूले मंगलबार बिहानदेखि होल्डिङ सेन्टर परिसरमा विरोध प्रदर्शन गरेका हुन्।
होल्डिङ सेन्टरमा बसिरहेका एक सुकुमवासीका अनुसार सोमबार बेलुकादेखि खाना वितरण रोकिएको छ। उनले भने, “खाना नदिएपछि रातभरि भोकै बस्नुपर्यो। कुनै सुनुवाइ नभएपछि बिहानैदेखि विरोध गरिरहेका छौं।”
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले पनि सोमबार बिहानसम्म मात्रै खाना पाएको जानकारी दिए। “म सोमबार बिहान खाना खाएर बाहिर निस्किएको थिएँ। साँझदेखि भने खाना वितरण रोकिएको रहेछ। अहिले बस्ने कोठाको समेत व्यवस्था खोज्दै हिँडिरहेको छु,” उनले बताए।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर, आफूहरूलाई सरकारले बस्न दिएको अवधिसम्म पनि आधारभूत आवश्यकता पूरा नगरेको भन्दै सुकुमवासीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
खरिपाटीस्थित होल्डिङ सेन्टरमा रहेका अर्का एक सुकुमवासीले भने, “सरकारले आफैं बस्न दिएको अवधिमा समेत भोकै राख्यो। हाम्रोभन्दा बढी समस्या बिरामी, ज्येष्ठ नागरिक र बालबालिकालाई परेको छ। खाना खाएपछि मात्रै सेवन गर्नुपर्ने औषधि पनि धेरैले खान पाएका छैनन्।”
सरकारले गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएर प्रभावित परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो। खरिपाटीस्थित होल्डिङ सेन्टरमा हाल ९९ परिवारका २०७ जना बसोबास गरिरहेका छन्।
सुकुमवासीहरूको विरोध प्रदर्शन सुरु भएपछि सम्भावित अप्रिय अवस्था हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रभावितहरूले तत्काल खाद्यान्न व्यवस्था गर्न, वैकल्पिक आवासको सुनिश्चितता गर्न तथा राज्यले आफ्नो जिम्मेवारी पूरा गर्न सरकारसँग माग गरेका छन्।