२३ असार काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायत विभिन्न राजनीतिक नेताविरुद्ध अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।पाँचथर जिल्ला अदालतको आदेशपछि फाल्गुनन्द गाउँपालिका–७, पाँचथरका पोखरेललाई थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीका अनुसार पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरी साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनी हाजिर जमानीमा रिहा भएका थिए। तर, सरकारी वकिलको कार्यालयले उनीविरुद्ध साइबर अपराध मुद्दामा अभियोग दर्ता गरेपछि पुनः पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो।
पाँचथर जिल्ला अदालतका श्रेस्तेदार राजकुमार निरौलाका अनुसार अदालतले असार १८ गते पोखरेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।अनुसन्धानका क्रममा पोखरेलले ‘हेड्स’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सहित अन्य नेताहरूलाई लक्षित गर्दै अपमानजनक र गालीगलौजपूर्ण सामग्री नियमित रूपमा प्रसारण गरेको खुलेको प्रहरीले जनाएको छ।
यस प्रकरणमा प्रहरीको साइबर ब्युरोले समेत अनुसन्धान गरेको थियो। अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।अब उक्त मुद्दाको अन्तिम टुंगो नलागेसम्म पोखरेल पुर्पक्षका लागि कारागारमै रहनेछन्। अदालतबाट अन्तिम फैसला भएपछि मात्र उनी दोषी वा निर्दोष भएको कानुनी रूपमा टुंगो लाग्नेछ।