२५ असार काठमाडौँ । बाह्रकिलो क्षेत्रमा वन अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन डिभिजन वन कार्यालय गोरखा ले सात दिने अन्तिम अल्टिमेटम जारी गरेको छ।कार्यालयले बुधबार सूचना जारी गर्दै बाह्रकिलो बजार क्षेत्रमा वन क्षेत्र मिचेर निर्माण गरिएका सम्पूर्ण अवैध संरचना यही असार ३० गतेभित्र स्वेच्छाले हटाउन सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको हो। तोकिएको अवधिभित्र संरचना नहटाइए आवश्यक परे बल प्रयोग गरी हटाइने तथा अवरोध वा विरोध गर्ने व्यक्ति वा संस्थामाथि वन ऐन–२०७६ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी पनि कार्यालयले दिएको छ।
कार्यालयका प्रमुख मदन मोहन शाण्डिल्य का अनुसार व्यवसायीहरूले विगत केही वर्षदेखि बाह्रकिलोस्थित ओख्ले पाखा सामुदायिक वन उपभोक्ता समूह को वन क्षेत्र अतिक्रमण गरी अवैध संरचना निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएका छन्। वन क्षेत्र तथा सडक मिचेर करिब ३५ वटा अवैध संरचना निर्माण भएको उनले जानकारी दिए।उनका अनुसार सामुदायिक वन उपभोक्ता समूह र गोरखा नगरपालिका ले पटक–पटक सूचना जारी गर्दै संरचना हटाउन आग्रह गरे पनि व्यवसायीहरूले अटेर गरेपछि डिभिजन वन कार्यालयले अन्तिम सूचना जारी गर्दै सात दिने अल्टिमेटम दिनुपरेको हो।
“यस्ता अवैध संरचना हटाउने जिम्मेवारी वन उपभोक्ता समूह र स्थानीय सरकारको हो,” प्रमुख शाण्डिल्यले भने, “तर पटक–पटक सूचना जारी गर्दा पनि अटेर भएपछि बाध्य भएर हामीले अन्तिम अल्टिमेटम जारी गरेका हौँ।”कार्यालयले सूचना प्रकाशनसँगै माइकिङ गरेर पनि व्यवसायीलाई जानकारी गराउने जनाएको छ। निर्धारित समयभित्र संरचना हटाइएपछि वन क्षेत्रको स्पष्ट सीमांकन गरी आवश्यक तारबार गरेर संरक्षणको व्यवस्था गरिने डिभिजन वन कार्यालयले जनाएको छ।