२६ असार काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न भएका विकास निर्माण, सेवा प्रवाह तथा बजेट कार्यान्वयनबारे स्थानीय नागरिकलाई जानकारी गराउँदै सुझाव र गुनासो समेत संकलन गरेको हो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा आगामी योजनाका विषयमा आफ्ना जिज्ञासा र सुझाव राखेका थिए भने गाउँपालिकाका पदाधिकारीहरूले उठेका प्रश्नको जवाफ दिएका थिए।
सोही अवसरमा गाउँपालिकाले यस वर्ष बारपाक सुलिकोट गाउँपालिका भित्रका विद्यालयबाट कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानपत्रसहित कदर गर्दै आगामी अध्ययन यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो।
त्यसैगरी, आफ्ना विषयमा विद्यार्थीलाई उच्च अंक हासिल गराउन सफल शिक्षकहरूलाई पनि गाउँपालिकाले सम्मान गरेको छ। उत्कृष्ट शैक्षिक उपलब्धिमा योगदान पुर्याएका शिक्षकहरूको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताएका थिए। गाउँपालिकाले आगामी दिनमा पनि उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्ने नीति निरन्तर अघि बढाइने जनाएको छ।
गाउँपालिकाले सार्वजनिक सुनुवाइलाई स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने, पारदर्शिता कायम गर्ने र जवाफदेहिता सुनिश्चित गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिँदै आएको जनाएको छ।