३२ असार काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकामा लगातारको वर्षापछि बारपाक सुलिकोट गाउँपालिका–अन्तर्गत पर्ने ध्याम्पेसाल–देउराली–ताकु सडकको पन्द्रुङ कुनामा ठूलो पहिरो जाँदा सडकमा गम्भीर क्षति पुगेको छ। सडकको एक भाग भासिएको छ भने विभिन्न स्थानमा गहिरा चिरा परेकाले आवतजावत अत्यन्त जोखिमपूर्ण बनेको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले बताउनु भयो । यसले सवारीसाधन सञ्चालनमा समेत समस्या उत्पन्न गरेको छ।
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष भट्टका अनुसार उक्त स्थानमा पहिलेदेखि नै भू–जोखिमयुक्त रहेको र सडकमा चिरा पर्ने, भासिने तथा पहिरो जान सक्ने संकेत देखिँदै आएको उहाँको भनाइ छ । जोखिम बढ्दै गएपछि गाउँपालिकाले पटक–पटक पूर्वाधार विकास कार्यालय, गोरखालाई लिखित तथा मौखिक रूपमा जानकारी गराउँदै आवश्यक संरक्षण र मर्मतको काम तत्काल अघि बढाउन आग्रह गरेको पनि उक्त कार्यालयले भने चुपचाप बसेको गाउपालिकाले जनाएको हो । तर समयमै आवश्यक पहल हुन नसक्दा निरन्तरको वर्षासँगै सडकको ठूलो भाग पहिरोमा परेर क्षति पुगेको गाउँपालिकाको भनाइ छ।
स्थानीयका अनुसार सुरुमा सामान्य देखिएको चिरा विस्तारै फैलिँदै सडकको आधार कमजोर बन्यो र अन्ततः ठूलो पहिरोमा परिणत भयो। घटनास्थलका तस्बिरहरूले पनि सडकको एक भाग भासिएको, किनाराहरू चर्किएको र थप क्षति हुने जोखिम अझै कायम रहेको देखाउँछन्।
स्थानीयवासीहरूले समयमै रोकथाम तथा संरक्षणका काम गरिएको भए यति ठूलो क्षति हुन नपुग्ने बताएका छन्। उनीहरूका अनुसार सम्बन्धित निकायको ढिलासुस्तीका कारण अहिले सडक प्रयोग गर्ने सर्वसाधारणले दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।
हाल सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको छ। सवारीसाधनलाई सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरिएको छ भने स्थानीय तथा यात्रुहरूले उच्च सतर्कता अपनाएर मात्रै आवतजावत गरिरहेका छन्।
बारपाक सुलिकोट गाउँपालिकाले सडकको तत्काल प्राविधिक अध्ययन गरी जोखिम नियन्त्रण, पहिरो रोकथाम तथा दीर्घकालीन संरक्षणका उपाय अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकायसँग पुनः आग्रह गरेको जनाएको छ। स्थानीयवासीले पनि सडकलाई सुरक्षित र दिगो बनाउन ढिलाइ नगरी आवश्यक संरक्षण कार्य सुरु गर्न सरकारसँग माग गरेका छन्।