१ साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मनोनीत हुने महामन्त्रीको विषयले आन्तरिक राजनीति थप तातेको छ। पार्टीभित्र प्रधानमन्त्री बालेन शाह निकट समूहबाट हाल प्रधानमन्त्रीको सचिवालयमा प्रशासन प्रमुखका रूपमा कार्यरत सुदीप ढकालको नाम मनोनीत महामन्त्रीका लागि अघि सारिएको चर्चा छ।पहिलो महाधिवेशनबाट १,४३९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका ढकाललाई महामन्त्री बनाउन बालेन पक्ष सक्रिय रहेको स्रोतको दाबी छ। बालेननिकट एक रास्वपा नेताका अनुसार आफ्नो समूहले महामन्त्री पदका लागि ढकाललाई अघि सारेको हो।
महाधिवेशनका क्रममा पनि ढकाललाई केन्द्रीय सदस्यमा जिताउन बालेन पक्षका नेताहरू सक्रिय रूपमा लागेको बताइएको छ।यता, बालेन पक्षले हालका मनोनीत महामन्त्री भूपदेव शाहलाई पुनः सोही जिम्मेवारीमा निरन्तरता दिने पक्षमा नरहेको पनि स्रोतको भनाइ छ। महामन्त्रीका रूपमा रहँदा भूपदेवको भूमिका अपेक्षाअनुसार प्रभावकारी नभएको निष्कर्ष निकाल्दै नयाँ अनुहारलाई अवसर दिनुपर्ने धारणा उक्त समूहको रहेको बताइएको छ।बालेननिकट एक नेताले भने, “महाधिवेशनमा हाम्रो समूहका नेताहरूलाई जिताउन भूपदेवको भूमिका देखिएन। प्रतिनिधि थप्ने विषयमा पनि आवश्यक समन्वय र सरसल्लाह हुन सकेन। कविन्द्रजी संसद्को काममा व्यस्त हुँदा सङ्गठनको जिम्मेवारी उहाँसँग थियो, तर सङ्गठन सुदृढ बनाउन अझै धेरै मेहनत आवश्यक देखियो।”रास्वपाको केन्द्रीय समितिको बैठकले गत वैशाख ७ गते भूपदेव शाहलाई मनोनीत महामन्त्री बनाएको थियो।
पार्टी विधानअनुसार सभापतिलाई ११ जना पदाधिकारी मनोनयन गर्ने अधिकार छ। साथै, ५१ जना मनोनीत केन्द्रीय सदस्य राख्न सकिने व्यवस्था भए पनि आन्तरिक सहमति जुट्न नसक्दा ती पदहरू अझै पूर्ण हुन सकेका छैनन्।पार्टीभित्रको छलफलअनुसार मनोनीत हुने ५१ केन्द्रीय सदस्यमध्ये बालेन पक्षलाई १८ जनाको भागबन्डा मिलाउने तयारी भइरहेको स्रोतको दाबी छ। यस क्रममा सांसद नभएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने रणनीति अपनाइएको बताइएको छ।यता, पार्टी स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङले पनि मनोनीत हुने केन्द्रीय सदस्यमा आफ्नो पक्षको प्रतिनिधित्व खोजेको चर्चा छ।
उनले ‘जेनजी’ उमेर समूहबाट सात जना केन्द्रीय सदस्य मनोनयन गर्नुपर्ने माग गरेको दाबी गरिएको छ।तर रास्वपाका शीर्ष तहका एक नेताले भने त्यसलाई फरक रूपमा व्याख्या गरेका छन्। उनका अनुसार गृहमन्त्री गुरुङले व्यक्तिगत रूपमा भाग नखोजेको, बरु आफू निकट मानिने युवाहरूलाई केन्द्रीय सदस्यमा समेट्नुपर्ने धारणा राखिएको हो।रास्वपाभित्र मनोनीत पदाधिकारी र केन्द्रीय सदस्य चयनको प्रक्रिया अझै टुंगोमा पुग्न नसकेका बेला विभिन्न समूहबीच शक्ति सन्तुलन मिलाउने प्रयास जारी रहेको नेताहरूको भनाइ छ। आगामी निर्णयले पार्टीभित्रको आन्तरिक समीकरण र नेतृत्व संरचनामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।