१ साउन काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाको ‘लाइफलाइन’ मानिने घ्याम्पेशाल–पाल्खु सडकअन्तर्गत पन्द्रुङ खण्डमा सडक भासिएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शुक्रबार स्थलगत निरीक्षण गरेको छ। केही दिनअघि परेको अविरल वर्षाका कारण सडकको ठूलो भाग भासिएपछि यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको हो।
पन्द्रुङ क्षेत्रमा सडक भासिएसँगै विशेषगरी ठूला सवारी साधन सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएको छ भने यात्रुवाहक बस सेवा पनि हिजोदेखि पूर्ण रूपमा बन्द भएको छ। यसका कारण बारपाक, ताकुकोट, हुँडीफाँट, खार्चोकलगायतका बस्तीका सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्। स्थानीय अहिले पाँचखुवा–देउराली हुँदै पैदल यात्रा गरेर गन्तव्यमा पुग्न बाध्य छन्।
बारपाक सुलिकोट गाउँपालिकाका अनुसार उक्त सडकमा समस्या अहिले मात्रै देखिएको होइन। गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले सडक कमजोर बन्दै गएको विषयमा गोरखाको पूर्वाधार विकास कार्यालयलाई पटक–पटक जानकारी गराउँदै तत्काल संरक्षण तथा मर्मतको व्यवस्था मिलाउन आग्रह गरेका थिए। तर सम्बन्धित कार्यालयले समयमै आवश्यक कदम नचालेका कारण अहिले ठूलो क्षति भएको गाउँपालिकाको दाबी छ।

अध्यक्ष भट्टले जोखिम बढ्दै गएको अवस्थाबारे सम्बन्धित निकायलाई बारम्बार सचेत गराउँदा पनि बेवास्ता गरिएकाले सडक भासिने अवस्था आएको बताए। उनले समयमै संरक्षणको काम भएको भए अहिलेको क्षति टार्न सकिने धारणा व्यक्त गरे।
स्थानीयवासीले पनि सडक भासिनुमा निर्माणपछि आवश्यक संरक्षण र निगरानीको अभाव रहेको बताएका छन्। करिब एक वर्षअघि मात्रै कालोपत्रे गरिएको सडक छोटो समयमै भासिएपछि निर्माणको गुणस्तर र सरकारी निकायको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ।

सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु ढुवानी, बिरामीको ओसारपसार, विद्यार्थीको आवतजावत तथा अन्य अत्यावश्यक सेवामा समेत असर परेको छ। स्थानीयले तत्काल वैकल्पिक व्यवस्था मिलाई सडक सञ्चालनमा ल्याउन र दीर्घकालीन रूपमा पहिरो नियन्त्रण तथा सडक संरक्षणको काम अघि बढाउन माग गरेका छन्।

यसैबीच, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय, प्राविधिक र सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणपछि सडक पुनः सञ्चालनका लागि आवश्यक समन्वय र मर्मत कार्य यथाशीघ्र अघि बढाइने जनाइएको छ।स्थानीयवासीले भने निरीक्षण मात्रै नभई तत्काल काम सुरु गरी बारपाक सुलिकोट गाउँपालिकाको प्रमुख जीवनरेखा मानिने यस सडकलाई सुरक्षित र दिगो बनाउन सरकारसँग जोडदार माग गरेका छन्।