३ साउन श्रीलङ्का । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई श्रीलङ्का भ्रमणका क्रममा भव्य स्वागत गरिएको छ। श्रीलङ्काको सत्तारुढ जनता विमुक्ति पेरामुना (JVP) का महासचिव तिल्भिन सिल्भा सँग कोलम्बोस्थित जेभिपीको केन्द्रीय कार्यालयमा भएको उच्चस्तरीय भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।
भेटका क्रममा नेपाल र श्रीलङ्काबीचको ऐतिहासिक कम्युनिस्ट आन्दोलन, दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषय, एसियाली समाजवादी तथा वामपन्थी शक्तिहरूबीचको एकता र सहकार्य विस्तार गर्ने रणनीति तथा समाजवाद निर्माणका साझा लक्ष्यबारे विस्तृत छलफल भएको जनाइएको छ।
श्रीलङ्कामा आयोजित अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी विभिन्न देशका वामपन्थी नेताहरूले प्रचण्डप्रति सम्मान व्यक्त गरेका थिए। सो अवसरमा नेपालको सशस्त्र जनयुद्धलाई शान्ति प्रक्रियामार्फत लोकतान्त्रिक राजनीतिक रूपान्तरणमा रूपान्तरण गरेको अनुभवप्रति विशेष चासो देखाउँदै सहभागी नेताहरूले त्यसबारे विचार आदानप्रदान गरेका थिए।
छलफलमा नेपालको शान्ति प्रक्रिया, लोकतान्त्रिक संक्रमण, राजनीतिक स्थायित्व, समाजवाद उन्मुख विकास तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयले प्राथमिकता पाएको बताइएको छ।
दुवै पक्षले नेपाल–श्रीलङ्काबीचको राजनीतिक तथा वैचारिक सम्बन्धलाई थप मजबुत बनाउँदै भविष्यमा संयुक्त कार्यक्रम, अनुभव आदानप्रदान र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषकहरूले यस भेटलाई नेपाल र श्रीलङ्काका वामपन्थी शक्तिबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने तथा एसियाली समाजवादी आन्दोलनलाई थप सशक्त बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा मूल्याङ्कन गरेका छन्।