Logo

मंगलवार, श्रावण १२ गते २०८३

मर्मत गरेको भोलिपल्टै फेरि भासियो बारपाक सुलिकोट–८ पन्द्रुङ सडक

मर्मत गरेको भोलिपल्टै फेरि भासियो बारपाक सुलिकोट–८ पन्द्रुङ सडक

जोईन खबर

३, श्रावण २०८३
  • 310
    SHARES
  • मर्मत गरेको भोलिपल्टै फेरि भासियो बारपाक सुलिकोट–८ पन्द्रुङ सडक

    ३ साउन काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ स्थित पन्द्रुङको सडक मर्मत गरिएको भोलिपल्टै फेरि भासिएको छ। लगातार परेको वर्षाका कारण शनिबार मर्मत गरिएको सडक आइतबार पुनः भासिएपछि स्थानीयवासी चिन्तित बनेका छन्।

    images

    केही दिनअघि परेको अविरल वर्षासँगै सडकको विभिन्न स्थानमा भू–क्षय भएपछि सम्बन्धित निकायले शनिबार मर्मत कार्य गरेको थियो। वर्षाको पानीले थप क्षति नपुर्‍याओस् भन्ने उद्देश्यले सडकका भासिएका संवेदनशील स्थानमा त्रिपालसमेत बिछ्याइएको थियो।

    तर शनिबार रातिदेखि परेको अविरल वर्षाले सडक पुनः भासिएपछि मर्मत कार्य प्रभावहीन बनेको छ। सडकको केही भाग चर्किएर भासिँदा सवारी साधन सञ्चालनमा कठिनाइ भएको स्थानीयले बताएका छन्। सडक आसपासका बासिन्दाले वर्षायाममा पटक–पटक सडक भासिने समस्या दोहोरिन थालेपछि सुरक्षित यात्रा गर्नसमेत कठिन भएको गुनासो गरेका छन्।

    स्थानीयका अनुसार अस्थायी मर्मतले मात्र समस्या समाधान नहुने भएकाले दीर्घकालीन रूपमा सडकको ढल निकास व्यवस्थापन, पर्खाल निर्माण तथा भू–संरक्षणका काम तत्काल अघि बढाउन आवश्यक छ। अन्यथा वर्षा भइरहेसम्म सडक भासिने क्रम नरोकिने उनीहरूको भनाइ छ।

    अविरल वर्षा जारी रहेकाले सडक थप जोखिममा पर्न सक्ने सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन स्थानीयले आग्रह गरेका छन्। सम्बन्धित निकायले भने सडकको अवस्थाबारे अनुगमन गरी थप मर्मत तथा जोखिम न्यूनीकरणका काम अघि बढाउने जनाएको छ।

    प्रकाशित मिति :श्रावण ३, २०८३ आइतवार - १०:३४:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको