Logo

मंगलवार, श्रावण १२ गते २०८३

साउनको पहिलो सोमबार आज,पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, व्रत तथा पूजाआराधना सुरु

साउनको पहिलो सोमबार आज,पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, व्रत तथा पूजाआराधना सुरु

जोईन खबर

४, श्रावण २०८३
  • 289
    SHARES
  • साउनको पहिलो सोमबार आज,पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो, व्रत तथा पूजाआराधना सुरु

    ४ साउन काठमाडौँ । सौरमासअनुसार साउन महिनाको पहिलो सोमबारको व्रत आजबाट सुरु भएको छ। भगवान् शिवको विशेष आराधनाको दिन मानिने साउनको पहिलो सोमबारका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थी तथा भक्तजनको उल्लेख्य भीड लागेको छ।

    images

    राजधानीस्थित पशुपतिनाथ मन्दिरमा बिहान साढे ३ बजेदेखि नै चारवटै ढोका भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनलाई सहज बनाउन मन्दिर प्रवेशका लागि चारवटा छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजनको आगमन भए पनि अत्यधिक लाम नलागेको कोषले जनाएको छ। दर्शनार्थीको सुविधाका लागि प्राथमिक उपचार, खानेपानी, सुरक्षा तथा अन्य अत्यावश्यक व्यवस्थासमेत मिलाइएको छ।

    साउन महिना भगवान् शिवको प्रिय महिना र सोमबार शिवजीको विशेष प्रिय बार मानिने भएकाले यस अवधिमा व्रत बस्ने तथा शिवको पूजा–आराधना गर्ने धार्मिक परम्परा रहिआएको छ। विशेषगरी आशुतोष भगवान् शिवको अभिषेक, बेलपत्र, धतुरो, अक्षता, दूध तथा जल चढाई पूजा गर्ने चलन छ।

    पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका प्रमुख शिव मन्दिरहरूमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको छ। यसैगरी देशभरका विभिन्न शिवालयमा श्रद्धालुहरू पूजा, आराधना तथा दर्शनका लागि पुगेका छन्।

    धार्मिक परम्पराअनुसार साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म श्रद्धापूर्वक व्रत बस्ने भक्तजनले अन्तिम सोमबार गोदान तथा पूर्णपात्र दान गरी व्रत समापन गर्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार श्रद्धा र नियमपूर्वक साउने सोमबारको व्रत तथा शिवपूजा गरेमा मनोकामना पूरा हुने, पारिवारिक सुख–शान्ति प्राप्त हुने तथा जीवनका विभिन्न समस्या समाधान हुने जनविश्वास रहेको छ।

    Screenshot 2026-07-20 100844.jpg

    व्रतको धार्मिक महत्त्व

    हिन्दू धर्मग्रन्थ तथा पुराणहरूमा सोमबारको व्रतलाई अत्यन्त फलदायी मानिएको छ। पुराणहरूमा मुख्य रूपमा साउने सोमबार, सोर्‍ह सोमबार तथा सोम प्रदोष व्रतको उल्लेख गरिएको पाइन्छ।सोमबारको व्रत सूर्योदयदेखि सुरु भई दिनको तेस्रो प्रहरसम्म बस्ने परम्परा छ। तेस्रो प्रहर अर्थात् करिब दिउँसो ३ बजेतिर भगवान् शिवको विधिपूर्वक पूजा गरी व्रतकथा सुन्ने तथा त्यसपछि बेलुका एकपटक मात्र सात्विक भोजन गर्ने धार्मिक विधि रहेको छ।

    शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा वर्णन गर्ने क्रममा आफ्ना तीन नेत्रको प्रतीकात्मक अर्थसमेत बताएका छन्। उहाँका अनुसार दाहिने नेत्र सूर्य, बायाँ नेत्र चन्द्रमा तथा बीचको नेत्र अग्निको प्रतीक हो। यस कारण साउन महिनामा शिवको आराधना विशेष फलदायी हुने धार्मिक विश्वास रहिआएको छ।

    यस वर्ष पनि साउनको पहिलो सोमबारका अवसरमा देशभरका शिवालयमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ। श्रद्धालुहरूले भगवान् शिवको पूजा, जलाभिषेक तथा व्रतमार्फत सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने कामना गरेका छन्।

    Screenshot 2026-07-20 100825.jpg

    प्रकाशित मिति :श्रावण ४, २०८३ सोमवार - १०:०६:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको