४ साउन काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले आफ्नो १२औँ केन्द्रीय महाधिवेशन यहि भदौ १९ र २० गते लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गर्ने निर्णय गरेको छ। एसोसिएसनको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गर्दै महाधिवेशनको तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।
बैठकले महाधिवेशनलाई संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको पक्षमा वकालत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको भावी कार्यदिशा, नीति तथा कार्यक्रम तय गरिने अपेक्षा गरिएको छ।
महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक, कानुन व्यवसायी तथा लोकतान्त्रिक आन्दोलनसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ। यस अवसरमा नेपालको समसामयिक कानुनी, संवैधानिक तथा न्यायिक विषयमा छलफल, अन्तरक्रिया तथा विभिन्न प्रस्तावमाथि व्यापक बहस हुने कार्यक्रम तय गरिनेछ।
बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्ने, आवश्यक व्यवस्थापनका कामलाई तीव्रता दिने तथा प्रदेश तथा जिल्ला तहका समितिहरूसँग समन्वय गरी तयारीलाई समयमै सम्पन्न गर्ने निर्णयसमेत गरेको छ।
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनले सम्पूर्ण सदस्य, कानुन व्यवसायी, शुभेच्छुक तथा सम्बन्धित सरोकारवालाहरूलाई १२औँ केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। साथै, महाधिवेशन लोकतान्त्रिक अभ्यास, संस्थागत विकास तथा कानुनी पेशाको गरिमा अभिवृद्धिका लागि ऐतिहासिक र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरिएको छ।