५ साउन काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाअन्तर्गत पर्ने घ्याम्पेशाल–ताकुकोट सडक विगत पाँच दिनदेखि अवरुद्ध भएको छ। लगातारको वर्षापछि सडक भासिँदा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो।
बारपाक सुलिकोट गाउँपालिका–८ का वडाध्यक्ष शरण गुरुङका अनुसार वडा नं. ८ को पन्द्रङ ढाप क्षेत्रमा गत बिहीबार राति सडक भासिएपछि सडक सञ्चालन हुन सकेको छैन।उनका अनुसार सडकको अवस्था अत्यन्त जोखिमपूर्ण भएकाले अहिले उक्त स्थानबाट मोटरसाइकलसमेत वारपार गराउन नसकिने अवस्था छ।
सडक अवरुद्ध हुँदा बारपाक सुलिकोट गाउँपालिका वडा नं। ६, ७ र ८ का स्थानीय बासिन्दा दैनिक आवतजावत, खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक कामकाजमा समस्या भोग्न बाध्य भएका छन्।स्थानीयले सडक यथाशीघ्र मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्। वर्षा निरन्तर भइरहेकाले मर्मत कार्यमा समेत चुनौती थपिएको बताइएको छ।