६ साउन काठमाडौँ । नेपाली कांग्रेस गोरखाले ४४औँ बीपी स्मृति दिवसको अवसरमा जरा अभियानु समापन कार्यक्रम सम्पन्न गरेको छ। आज गोरखा सदरमुकामस्थित पार्टी कार्यालय तीनधारेमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस गोरखाका सभापति तथा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपानेको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बीपी कोइरालाले नेपाली लोकतान्त्रिक आन्दोलन, राष्ट्रिय एकता तथा समाज रूपान्तरणका लागि पुर्याएको योगदानको स्मरण गरिएको थियो। वक्ताहरूले बीपीको विचार, आदर्श र सिद्धान्तलाई वर्तमान राजनीतिक परिवेशमा अझ प्रभावकारी रूपमा आत्मसात् गर्दै संगठनलाई जनतासँग थप नजिक बनाउनुपर्नेमा जोड दिएका थिए।
यसै अवसरमा पार्टीले सञ्चालन गर्दै आएको ुजरा अभियानु औपचारिक रूपमा समापन गरिएको छ। अभियानमार्फत वडा तथा गाउँ–टोल तहसम्म संगठन विस्तार, कार्यकर्तासँग प्रत्यक्ष संवाद, जनताका गुनासा र सुझाव संकलन तथा पार्टीलाई आधार तहसम्म सुदृढ बनाउने कार्य गरिएको नेपाली कांग्रेस गोरखाले जनाएको छ।
कार्यक्रममा पार्टीका जिल्ला पदाधिकारी, महासमिति सदस्य, प्रदेश तथा क्षेत्रीय प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समापन कार्यक्रममा सभापति नन्दप्रसाद न्यौपानेले बीपी कोइरालाको लोकतान्त्रिक आदर्शलाई व्यवहारमा उतार्दै जनताको सेवामा समर्पित भएर काम गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले संगठनलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउँदै आगामी राजनीतिक चुनौतीहरू सामना गर्न पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।