८ साउन काठमाडौं । अमेरिका निवासी नेपाली कराते प्रशिक्षक सिहान शान्त थोकरले अमेरिकी कराते महासंघ (USA National Karate-Do Federation–USANKF) बाट करातेको प्रतिष्ठित सातौँ डन (7th Dan–Kyoshi) सम्मान प्राप्त गर्ने पहिलो नेपाली बनेर इतिहास रचेका छन्।
उक्त सम्मान अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटलमा आयोजित USA National Karate Championship–2026 का अवसरमा जुलाई १७ मा सम्पन्न विशेष समारोहमा प्रदान गरिएको हो। प्रतियोगिता जुलाई १५ देखि १९ सम्म सञ्चालन भएको थियो। महासंघकी अध्यक्ष एलिसा आउद्वारा हस्ताक्षरित प्रमाणपत्रमार्फत थोकरलाई करातेको विकास, नेतृत्व, प्रशिक्षकका रूपमा उत्कृष्ट योगदान, दीर्घकालीन साधना तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको सेवाको उच्च मूल्यांकन गर्दै सातौँ डान (Kyoshi) प्रदान गरिएको हो।
सन् २००७ देखि अमेरिकाको न्यूयोर्कमा कराते डोजो सञ्चालन गर्दै आएका थोकरले नेपाली समुदायसँगै अमेरिकी समाजमा पनि करातेको प्रवर्द्धन, खेलाडी उत्पादन तथा प्रशिक्षक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। उनको प्रशिक्षणबाट तयार भएका खेलाडीहरूले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेका छन्। साथै उनले NYC Karate Championship जस्ता प्रतिष्ठित प्रतियोगिताहरू आयोजना गर्दै अमेरिकामा नेपाली करातेको पहिचानलाई थप उचाइमा पुर्याएका छन्।
सातौँ डान प्राप्त गरेपछि प्रतिक्रिया दिँदै सिहान थोकरले भने, "छैटौँ डानपछि सातौँ डान प्राप्त गर्न केही वर्ष ढिला भयो। तर चार दशकभन्दा बढी समयको निरन्तर मेहनत, अनुशासन र समर्पणको मूल्यांकन भएकोमा अत्यन्त खुसी छु। यो उपलब्धि मेरो व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपाली समुदाय र राष्ट्रको गौरव हो।"
सातौँ डान (Kyoshi) किन विशेष?
करातेमा ब्ल्याक बेल्टपछि प्रदान गरिने उच्च श्रेणीलाई 'डान' भनिन्छ। सातौँ डान (Kyoshi) करातेको अत्यन्त सम्मानित गुरु तथा विशेषज्ञ प्रशिक्षकको तह हो। यो सम्मान केवल प्राविधिक दक्षताका आधारमा मात्र नभई दीर्घकालीन अभ्यास, नेतृत्व क्षमता, प्रशिक्षकको भूमिका, कराते दर्शनप्रतिको समर्पण, खेल विकासमा योगदान, खेलाडी उत्पादन तथा अन्तर्राष्ट्रिय मान्यतासमेतको समग्र मूल्यांकनपछि प्रदान गरिन्छ।
चार दशक लामो कराते यात्रा
सिहान शान्त थोकरले सन् १९८७ मा कराते यात्रा सुरु गरेका थिए। त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट क्रमशः प्रथमदेखि सातौँ डानसम्मको सम्मान प्राप्त गर्दै कराते क्षेत्रमा निरन्तर उचाइ हासिल गरेका छन्।
अमेरिकामा नेपाली करातेको पहिचान
दोलखा जिल्लाको भेड्पु निवासी थोकर अमेरिकामा कराते विद्यालय स्थापना गर्ने अग्रणी नेपाली प्रशिक्षकमध्ये एक हुन्। हाल उनले न्यूयोर्कको वुडसाइड र फरेस्ट हिल्समा दुईवटा डोजो सञ्चालन गर्दै बालबालिका, युवा तथा वयस्कलाई नियमित प्रशिक्षण प्रदान गरिरहेका छन्। उनको नेतृत्वमा तयार भएका खेलाडीहरूले अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
अन्तर्राष्ट्रिय प्रशिक्षक र निर्णायक
सिहान थोकर World Karate Federation (WKF), Pan American Karate Federation (PKF) तथा USA National Karate-Do Federation अन्तर्गत मान्यता प्राप्त प्रशिक्षक, परीक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक हुन्। हाल उनी IMA Nihon Karate-Do USA का अध्यक्ष तथा प्रमुख प्रशिक्षकका रूपमा कार्यरत छन्।
नेपाली खेलकुदका लागि गौरव
अमेरिकी कराते महासंघबाट सातौँ डान (Kyoshi) प्राप्त गर्ने पहिलो नेपालीका रूपमा सिहान शान्त थोकरले नेपाली करातेको इतिहासमा नयाँ अध्याय थपेका छन्। उनको यो ऐतिहासिक उपलब्धिले विश्व खेलमञ्चमा नेपाली करातेको प्रतिष्ठा अझ उँचो बनाएको छ भने भावी पुस्ताका खेलाडी तथा प्रशिक्षकका लागि प्रेरणाको स्रोत बनेको छ। नेपाल तथा विश्वभर रहेका नेपाली समुदायले उनको यस उपलब्धिलाई नेपाली खेलकुदको गौरवपूर्ण क्षणका रूपमा लिँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
प्रकाशित मिति :श्रावण ८, २०८३ शुक्रवार -
११:४९:४८ बजे