८ साउन गोरखा। गोरखा नगरपालिका–११ बाट पार्किङ गरी राखिएको स्कुटर चोरी गर्ने आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ निवासी २१ वर्षीय बिक्रम बि।क। र एक जना नाबालक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मिति २०८३ साउन ५ गते रातिको समयमा गोरखा नगरपालिका–११, तेहकिलो निवासी हस्तबहादुर रम्तेलले आफ्नो घर नजिक पार्किङ गरी राखेको ना ३५ प ५३ नम्बरको स्कुटर चोरी भएको थियो। घटनाबारे साउन ६ गते प्रहरीमा सूचना प्राप्त भएपछि प्रहरीले तत्काल खोजी तथा अनुसन्धान सुरु गरेको थियो।
खोजतलासका क्रममा उक्त स्कुटर पालुङटार नगरपालिका–१, मसानेठाँटी स्थित सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि गरिएको अनुसन्धानबाट स्कुटर चोरीमा संलग्न रहेको आरोपमा बिक्रम बि।क। र एक जना नाबालकलाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान अघि बढाएको छ। यस सम्बन्धमा साउन ७ गते गोरखा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ९डीएसपी० राजकुमार श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले चोरी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि नागरिकलाई सचेत रहन तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।