१३ साउन काठमाडौं । सुनसरीमा एक जनाको मृत्यु हुनेगरी भएको घटनापछि उत्पन्न अवस्था, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षाको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठकमा सरकारका प्रमुख जिम्मेवार व्यक्तिहरू अनुपस्थित भएका छन्।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन्। सरकारको नेतृत्वकर्ता दलकै पहलमा आयोजना गरिएको बैठकमा सरकारका प्रमुख जिम्मेवार मन्त्रीहरूको अनुपस्थिति चासोको विषय बनेको छ।
सुनसरी घटनापछि सरकारको व्यापक आलोचना भइरहेको छ। घटनालाई लिएर तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शनसमेत भइरहेका छन्। यस्ता संवेदनशील परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले बैठक आयोजना गरिएको भए पनि सरकारका तर्फबाट मुख्य जिम्मेवार नेतृत्व उपस्थित नभएको हो।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव कायम राख्न तथा शान्ति–सुरक्षाको वातावरण सुदृढ बनाउन राजनीतिक दलहरूबाट संयुक्त सन्देश आवश्यक ठानेर सर्वदलीय बैठक आयोजना गरिएको बताए।उनका अनुसार, प्रशासनिक तहबाट शान्ति–सुरक्षा कायम गर्ने प्रयास भइरहे पनि समाजमा फैलन सक्ने द्वेष र तनाव न्यूनीकरण गर्न राजनीतिक दलहरूले साझा अपिल गर्नु आवश्यक देखिएकाले छलफलको आयोजना गरिएको हो।
आचार्यले भने, अत्यन्तै संवेदनशील र दुःखद घटनाले सिर्जना गरेको असहज अवस्थालाई मध्यनजर गर्दै सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयाससँगै राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिल आवश्यक ठानेका छौं।बैठकमा सुनसरी घटनाको वास्तविक अवस्था, शान्ति–सुरक्षाको चुनौती, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा पछिल्लो राजनीतिक परिस्थितिबारे विस्तृत छलफल भइरहेको जनाइएको छ।