Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनसरीका नागरिकले सरकार अभिभावक हो भन्ने अनुभूति गर्नुपर्छ : एमाले नेता पोखरेल

सुनसरीका नागरिकले सरकार अभिभावक हो भन्ने अनुभूति गर्नुपर्छ : एमाले नेता पोखरेल

जोईन खबर

१३, श्रावण २०८३
  • 139
    SHARES
  • सुनसरीका नागरिकले सरकार अभिभावक हो भन्ने अनुभूति गर्नुपर्छ : एमाले नेता पोखरेल

    १३ साउन काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुनसरी घटनापछि प्रभावित नागरिकले सरकारले अभिभावकको भूमिका निर्वाह गरिरहेको छ भन्ने प्रत्याभूति पाउनुपर्ने बताएका छन्।

    images

    बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महासचिव पोखरेलले नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गरे। उनले सुनसरीमा भएको दुःखद घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै सरकार र सबै राजनीतिक दलले नागरिकमा विश्वास जगाउने गरी काम गर्नुपर्नेमा जोड दिए।

    उनले मुलुकमा सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको पनि बताए।पोखरेलले भने, “सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका खेलेको छ भन्ने प्रत्याभूति हुनुपर्छ।”

    उनले यस्ता घटना किन र कसरी भइरहेका छन् भन्ने विषयमा निष्पक्ष रूपमा अध्ययन गरी वास्तविक कारण पहिचान गर्नुपर्ने आवश्यकता औंल्याए। घटनाको कारण पहिचान नगरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन कठिन हुने उनको भनाइ थियो।

    महासचिव पोखरेलले सुरक्षा निकायको क्षमता, मनोबल र भिड व्यवस्थापनका विषयमा पनि समीक्षा आवश्यक रहेको बताए। उनले सुरक्षा निकायको मनोबल कमजोर भएका कारण यस्ता घटना भइरहेका हुन् वा भिड व्यवस्थापनमा सुधार गर्नुपर्ने अवस्था हो भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा राखे।

    उनले भने, “सुरक्षा निकायको मनोबल गिरेका कारण यस्ता घटना हुन्छन् वा सुरक्षा निकायलाई भिड व्यवस्थापन गर्न सक्ने र नागरिकको ज्यान नजाने गरी काम गर्न सक्ने क्षमता अभिवृद्धि गर्नुपर्ने हो भन्ने विषयमा गम्भीर ध्यान दिन जरुरी छ।”

    पोखरेलले सुनसरी घटनाबाट आवश्यक पाठ सिक्दै भविष्यमा नागरिकको ज्यान जाने अवस्था दोहोरिन नदिन सरकार, सुरक्षा निकाय र राजनीतिक दलहरूबीच समन्वय र जिम्मेवार भूमिका आवश्यक रहेको बताए।

    प्रकाशित मिति :श्रावण १३, २०८३ बुधवार - ११:४०:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको