१८ साउन काठमाडौँ ।अविरल वर्षापछि गोरखाको शहीद लखन गाउँपालिका–७ देउरालीमा दुई वटा घर पहिरोको उच्च जोखिममा परेका छन्। पहिरो सक्रिय बनेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने तथा सम्भावित क्षति न्यूनीकरणका लागि तत्काल रोकथामका उपायहरू अपनाइएको छ।
स्थानीयका अनुसार पहिरोका कारण दुई घर तथा गोठ जोखिममा परेपछि घरभित्र रहेका सामान र पशुचौपायालाई सुरक्षित स्थानमा सारिएको छ। जोखिम बढ्दै गएपछि स्थानीयवासी र जनप्रतिनिधिको समन्वयमा उद्धार तथा संरक्षणका काम अघि बढाइएको हो।
वडा कार्यालयले उपलब्ध गराएको कालो प्लास्टिक पहिरो गएको स्थानमा बिछ्याएर वर्षाको पानी सो क्षेत्रमा थप पस्न नदिने प्रयास गरिएको छ। यसबाट पहिरोको थप विस्तार रोक्न र जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा बासिन्दा सम्भावित जोखिमलाई मध्यनजर गर्दै निरन्तर निगरानीमा रहेका छन्। आवश्यक परे थप सुरक्षात्मक उपाय अपनाइने जनाइएको छ।
निरन्तर वर्षा भइरहेकाले पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा बसाइँ सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।