१९ साउन काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देल बीच आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। बिहान करिब ११ बजे प्रधानसेनापति सिग्देल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए। भेट छोटो समयका लागि भए पनि पछिल्ला घटनाक्रमका कारण यसको राजनीतिक र सुरक्षा वृत्तमा विशेष चर्चा भएको छ।
भेटपछि प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग सामूहिक छलफल गरेका थिए। प्रधानमन्त्री र प्रधानसेनापतिबीच भएको छलफलको विषयवस्तु भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
पछिल्लो समय तराईका केही क्षेत्रमा दुई समुदायबीच देखिएको तनाव, गोकर्णेश्वर क्षेत्रमा नेपाली सेनाको उपस्थितिसँग जोडिएको सडक विस्तार विवाद तथा प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।स्रोतका अनुसार प्रधानमन्त्री निकट मानिएका काठमाडौं(३ का सांसद राजुनाथ पाण्डे ले गोकर्णेश्वरमा सडक विस्तारका क्रममा नेपाली सेनाका जवानमाथि दुर्व्यवहार गरेको विषयमा प्रधानसेनापति सिग्देलले असन्तुष्टि व्यक्त गरेको बुझिएको छ। यद्यपि, यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन।
सोमबार माकलबारीबाट गोकर्णेश्वर मन्दिरतर्फ जाने सडक विस्तारका क्रममा नेपाल ट्रस्टको स्वामित्वमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट क्षेत्रको पर्खाल भत्काइएको थियो। उक्त स्थानमा नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्र रहेकाले सेनाका प्रतिनिधिले सडक विस्तारप्रति असहमति जनाएका थिए। त्यसक्रममा सांसद पाण्डेसहित स्थानीय जनप्रतिनिधिहरू उपस्थित थिए।सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा सांसद पाण्डेले आफूले प्रधानमन्त्री शाहसँग समन्वय गरेर नै काम गरिरहेको र जनताको सुविधाका लागि सडक खोलिएको भन्दै कुनै समस्या नहुने बताएका देखिन्छन् ।यसअघि गत साता बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पनि प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच औपचारिक भेटवार्ता भएको थियो। त्यसयता सुरक्षा र राजनीतिक विषयमा दुवै पक्षबीच निरन्तर संवाद भइरहेको बताइन्छ।
यस विषयमा प्रतिक्रिया दिँदै नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत ले प्रधानमन्त्री र प्रधानसेनापतिबीच नियमित भेटघाट हुने गरेको प्रारम्भिक प्रतिक्रिया दिएका छन्। उनले आजको भेट पनि नियमित समन्वयकै सिलसिलामा भएको बताएका छन्।यद्यपि, भेटमा कुन(कुन विषयमा विस्तृत छलफल भयो भन्नेबारे प्रधानमन्त्रीको सचिवालय वा नेपाली सेनाले औपचारिक विवरण सार्वजनिक गरेका छैनन्। त्यसैले भेटलाई लिएर विभिन्न अनुमान भइरहे पनि आधिकारिक जानकारी सार्वजनिक हुन बाँकी छ।