२० साउन काठमाडौँ । गोरखाको गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित मानसिंह गुरुङको घर साउन १८ गते गएको पहिरोले पूर्ण रूपमा बगाएपछि स्थानीयवासीहरूले पीडित परिवारको सरसहयोग अभियान सञ्चालन गरेका छन्।
पहिरोका कारण घर पूर्ण रूपमा क्षति भएपछि विस्थापित बनेको गुरुङ परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले स्थानीयस्तरमा आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको हो। अभियानमा स्थानीयवासी, विभिन्न संघसंस्था तथा शुभेच्छुकहरूलाई सहयोग गर्न आह्वान गरिएको छ।
यसैबीच, गोरखा नगरपालिका–९ का वडाध्यक्ष तथा लक्ष्मीबजार निवासी कुलबहादुर कुँवरले पहिरोपीडित मानसिंह गुरुङको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। साथै उनले मानवीय संवेदनालाई आत्मसात गर्दै पीडित परिवारलाई सक्दो सहयोग गर्न सबै नागरिक, समाजसेवी तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।
स्थानीयका अनुसार पहिरोबाट घर पूर्ण रूपमा नष्ट भएपछि गुरुङ परिवार अहिले कठिन अवस्थामा रहेको छ। उनीहरूको सुरक्षित आवास तथा दैनिक जीवन पुनः सञ्चालनका लागि सहयोग आवश्यक रहेको भन्दै अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको साथ र सहयोग अपेक्षा गरिएको छ।