२२ भदौ काठमाडौं । नेपाली कांग्रेसले रसुवा बाढीपीडितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। कांग्रेसले सोमबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीका तर्फबाट उक्त रकमको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे। सहयोग रकम रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने बताइएको छ।
चेक हस्तान्तरणपछि महामन्त्री पौडेलले कांग्रेस सभापति गगन थापाको नेतृत्वमा विज्ञहरूसँग परामर्श गर्ने, प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्ने र विपद्पछिको दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकारलाई सुझाव दिने तयारी भइरहेको जानकारी दिए।
प्रभावित क्षेत्रमा सहयोग र समन्वय गर्न सांसद मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको पनि पौडेलले बताए। साथै, सुरुङभित्र परेका व्यक्तिहरूको अवस्थाबारे यथार्थ विवरण तत्काल सार्वजनिक गर्न उनले अर्थमन्त्रीमार्फत सरकारसँग माग गरे।
पौडेलले बाढीपीडितका लागि तत्काल राहत, मध्यकालीन पुनरुत्थान र दीर्घकालीन पुनर्निर्माणलाई छुट्टाछुट्टै योजनाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। विपद् व्यवस्थापनमा सरकारको मात्रै प्रयास पर्याप्त नहुने भन्दै उनले तीनै तहका सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय दातृ निकायबीच सहकार्य र समन्वयको वातावरण बनाउनुपर्ने बताए।