Logo

शुक्रवार, भाद्र २६ गते २०८३

‘पैसा तिरेर पनि सामान नपाउने देशमा बस्न लाज लाग्छ’ : उद्योगमन्त्री यादव

‘पैसा तिरेर पनि सामान नपाउने देशमा बस्न लाज लाग्छ’ : उद्योगमन्त्री यादव

जोईन खबर

२४, भाद्र २०८३
  • 262
    SHARES
  • ‘पैसा तिरेर पनि सामान नपाउने देशमा बस्न लाज लाग्छ’  :  उद्योगमन्त्री यादव

    २४ भदौ काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यासको चरम अभावप्रति सरकार गम्भीर रहेको बताउँदै पैसा तिरेर पनि उपभोक्ताले सामान पाउन नसक्ने अवस्था आउनु लज्जास्पद भएको बताएकी छन्।

    images

    ग्यास उद्योगहरूले पर्याप्त मात्रामा सिलिन्डर काठमाडौं नपठाउँदा अहिलेको समस्या सिर्जना भएको उनको दाबी छ। उनले काठमाडौंमा रहेका ५८ वटा ग्यास उद्योगले दैनिक तीन–तीन हजार सिलिन्डर पठाएको भए अहिलेको अवस्था नआउने बताइन्।

    ‘जुन देशमा पैसा तिरेर मान्छेले सामान पाउँदैन, कस्तो हाम्रो देश होला भनेर लाज लाग्छ हामीलाई,’ मन्त्री यादवले भनिन्।उनले नेपाल आयल निगमले काठमाडौंका लागि ठूलो परिमाणमा ग्यास पठाएको बताए पनि त्यसअनुसार बजारमा सिलिन्डर नदेखिएको भन्दै प्रश्न उठाइन्।

    ‘अस्ति ४५ हजार सिलिन्डर काठमाडौंका लागि पठाएका छौँ भनिएको छ। तर यहाँ १९–२० हजारभन्दा बढी कसैले पाएको छैन,’ उनले भनिन्, ‘हिजो पनि ४८ हजार सिलिन्डर काठमाडौंका लागि हिँडेको छ भनिएको छ, तर १९ हजारभन्दा पनि कम गएको छ। कहाँ गए ती सिलिन्डररु कसैलाई केही थाहा छैन।’

    ग्यास उद्योगीहरूले पर्याप्त मात्रामा ग्यास बजारमा नल्याएको भन्दै उनले यसमा आयल निगम वा सरकारसँग कुनै मिलेमतो छ कि छैन भन्ने प्रश्नसमेत जनस्तरमा उठिरहेको बताइन्।मन्त्री यादवले कानुनभित्र रहेर उद्योगी तथा सम्बन्धित निकायसँग ग्यास माग्दा पनि पर्याप्त सहयोग नपाएको गुनासो गरिन्। सरकारको निर्देशनअनुसार काम गर्न आफूहरू तयार रहेको भन्दै उनले आवश्यक निर्देशन दिन सम्बन्धित निकायलाई आग्रह गरिन्।

    उनले ग्यास अभावको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै ग्यास उद्योग सञ्चालन गर्नुपर्ने प्रस्तावसमेत अघि सारिन्। ‘हामीले आफ्नै एउटा ग्यास उद्योग खोल्नै पर्छ। आज त्यो भयो भने कम्तीमा घर–घरमा ग्यास पुर्‍याउन सक्छौँ,’ उनले भनिन्।

    मन्त्री यादवले नेपालले अत्यावश्यक पाँच वस्तुमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन्। उनका अनुसार तेल, ग्यास, लुगा, खाद्यान्न र चिनी जस्ता आधारभूत वस्तुमा आत्मनिर्भर बन्न नसके जुनसुकै सरकारका पालामा पनि यस्तै समस्या दोहोरिन सक्छ।

    ‘यी पाँचवटा चिजमा नेपाल सरकार आत्मनिर्भर हुनैपर्छ। आत्मनिर्भर भएनौँ भने रोटी, कपडा र मकानका सवालमा जहिले पनि यस्तो स्थिति आउँछ,’ उनले भनिन्।जनताले पैसा तिरेर पनि आवश्यक वस्तु नपाउने अवस्था आफूलाई स्वीकार्य नभएको बताउँदै मन्त्री यादवले समस्या समाधानका लागि चौबीसै घण्टा काम गर्न आफू तयार रहेको बताइन्।उनले ग्यास आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न उद्योगी, आयल निगम र सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।

    प्रकाशित मिति :भाद्र २४, २०८३ बुधवार - १६:४०:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको