२८ भदौ काठमाडौँ । रसुवा बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक पुनर्स्थापनाको काम दशौँ दिनमा प्रवेश गरेको छ। सडकलाई छिटोभन्दा छिटो सवारी आवागमनका लागि सहज र सुरक्षित बनाउने उद्देश्यले पुनर्स्थापनाको काम तीव्र गतिमा भइरहेको छ।
हाल सडकको ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ। त्यससँगै सडकमा ग्राभेल बिछ्याउने र सब(सर्फेस नाली निर्माणको काम पनि अघि बढाइएको छ।
बाढी र पहिरोका कारण सडकको केही भाग क्षतिग्रस्त भएपछि यातायात सञ्चालनमा समस्या उत्पन्न भएको थियो। सडक पुनर्स्थापनाका लागि प्राविधिक तथा निर्माण टोलीले निरन्तर काम गरिरहेका छन्।
यात्रु तथा सवारीसाधनको आवागमनलाई सकेसम्म छिटो सहज र सुरक्षित रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित बाँकी कामलाई पनि तीव्रता दिइएको छ।