Logo

मंगलवार, कार्तिक ११ गते २०८३

हरितालिका तीजमा पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो, चारवटै ढोका खुला

हरितालिका तीजमा पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो, चारवटै ढोका खुला

जोईन खबर

२९, भाद्र २०८३
  • 325
    SHARES
  • हरितालिका तीजमा पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो, चारवटै ढोका खुला

    २९ भदौ काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि व्रतालु तथा भक्तजनको ठूलो भीड लागेको छ। तीजका अवसरमा शिवको पूजा तथा दर्शन गर्न पशुपतिनाथ क्षेत्रमा महिलाहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

    images

    व्रतालु तथा भक्तजनको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेशका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ।कोषका अनुसार दर्शनका लागि लाइनमा बसेका भक्तजनले करिब आधा घण्टामै पशुपतिनाथको दर्शन गरेर फर्कन सक्ने गरी व्यवस्थापन मिलाइएको छ।

    images
    images
    images

    पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै पर्व मनाइरहेका छन्। विभिन्न समूहमा भेला भएका महिलाहरूले नाचगान तथा आपसमा शुभकामना आदानप्रदान गर्दै तीजको उत्सव मनाइरहेका छन्।

    हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजमा व्रत बसेर भगवान् शिवको पूजा आराधना गरे सुख, शान्ति र पारिवारिक कल्याण हुने धार्मिक विश्वास छ। अविवाहित महिलाले योग्य तथा असल पति प्राप्तिको कामनासहित र विवाहित महिलाले श्रीमान्को दीर्घायु तथा परिवारको सुख, शान्तिको कामना गर्दै व्रत बस्ने परम्परा छ।

    तीजलाई लक्षित गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनको सुरक्षा तथा व्यवस्थापनका लागि करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यस्तै, २४ वटा धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवकसमेत परिचालन गरिएको छ।

    पशुपतिनाथबाहेक काठमाडौंका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’का रूपमा चिनिने मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको छ।देशका विभिन्न स्थानका शिवालयमा पनि तीजको अवसरमा व्रतालु तथा भक्तजनले शिवको पूजा, आराधना र दर्शन गरिरहेका छन्।

    प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - ११:०४:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको