३० भदौ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय तथा विभिन्न संस्थाको अनुगमन गर्दै हिँडेको आरोपमा झापामा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय (सुजन विश्वकर्मा)रहेका छन्। सरकारी कार्यालय, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थामा धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार विश्वकर्माले आफू रास्वपाको नेता तथा प्रधानमन्त्रीको सचिवालय सदस्य रहेको बताएर सरकारी कार्यालयमा प्रवेश र सार्वजनिक सरोकारका बैठकमा पहुँच बनाएका थिए। प्रधानमन्त्रीको सचिवालय सदस्य भएको दाबी गरेपछि जिल्ला प्रशासन कार्यालयबाट अनुगमनका लागि सरकारी गाडीसमेत उपलब्ध गराइएको प्रहरी स्रोतको भनाइ छ।
सरकारी गाडी प्रयोग गरेर विभिन्न कार्यालयको अनुगमनमा पुगेका विश्वकर्मा आफ्नै गाउँपालिका हल्दिबारी पुगेपछि प्रहरीको निगरानीमा परेका थिए। उनको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धान गर्दा उनी रास्वपाको केन्द्रीय सदस्य नरहेको र प्रधानमन्त्रीको सचिवालयमा समेत नरहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनका अनुसार विश्वकर्मा आफूलाई रास्वपाको नेता भन्दै सरकारी नम्बर प्लेटको गाडीमा गाउँपालिका कार्यालय पुगेका थिए। उनले पालिकाको विकासका विषयमा चासो राखेको अध्यक्ष लिङ्देनले बताए।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दबाब र धाकधम्की दिएको आरोपमा विश्वकर्मालाई सोमबार पक्राउ गरिएको हो।
प्रहरीले विश्वकर्माले झुटो परिचय दिएर कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानिनोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गरी जानकारी गराउन आग्रह गरेको छ।प्रहरी निरीक्षक अधिकारीले घटनाबारे थप अनुसन्धान भइरहेको र सरकारी गाडी प्रयोग गरेको विषयमा समेत अनुसन्धान भइरहेको जानकारी दिए।