१ असोज काठमाडौं — रसुवा विपद्का लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सांसद यज्ञमणि न्यौपानेले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले आफू भर्खरै विमानस्थलको कार्गो क्षेत्रबाट आएको र त्यहाँ बाढी तथा विपद् प्रभावितका लागि पठाइएका सामग्री लामो समयदेखि थन्किएको पाइएको बताए।
उनका अनुसार कार्गोमा लत्ताकपडालगायत ठूलो परिमाणमा राहत सामग्री थन्किएका छन्। उनले विगतमा कोरोना महामारीका बेला विदेशी सहयोगमा आएका ठूलो परिमाणका सामग्रीसमेत समयमै व्यवस्थापन हुन नसक्दा खेर गएको उदाहरण दिँदै अहिले प्राप्त सामग्रीको पनि त्यस्तै अवस्था हुन नदिन सरकार सचेत हुनुपर्ने बताए।
विभिन्न संस्थाबाट आएका सामग्री भन्सार प्रक्रियाका कारण सम्बन्धित पक्षले लिन नआएको तथा सरकारी निकायबाट माग नआएकाले सामग्री पठाउन नसकिएको जस्ता कुरा आफूले कार्गोका कर्मचारीबाट सुनेको सांसद न्यौपानेले बताए।
उनले विपद् प्रभावित क्षेत्रमा अहिले ती सामग्री आवश्यक छन् कि छैनन् भन्ने विषयमा सम्बन्धित निकायमार्फत तत्काल जानकारी लिएर आवश्यक सामग्री प्रभावित नागरिकसम्म पुर्याउन सरकारसँग आग्रह गरे।
‘विदेशीहरूले दिएको राहत सामग्री विमानस्थलमा अलपत्र छाड्ने अवस्था आउनु हुँदैन,’ उनले भने, ‘अहिले आवश्यक नभए पनि भविष्यमा आउने विपद्का लागि ती सामग्रीको उचित व्यवस्थापन गरिनुपर्छ।’
सांसद न्यौपानेले राहत सामग्री विमानस्थलमा थन्किएर खेर जाने तर विपद् प्रभावित नागरिकले आवश्यक सामग्री नपाउने अवस्था सिर्जना हुन नदिन सरकारको तत्काल ध्यान जानुपर्ने बताए।