१ असोज काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका भीमसेनथापा गाउँपालिका–१, मसेलका ट्रेकिङ व्यवसायी रञ्जन भट्टको लामो खोजीपछि पनि अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर आज अन्त्येष्टि गरेका छन्।
गत भदौ १० गते विदेशी पर्यटकलाई मानसरोवर घुमाउन लैजाने क्रममा केरुङ नाका पुग्नुअघि भट्ट बाढीपछि बेपत्ता भएका थिए। परिवारका अनुसार सोही दिन बिहान ८ः४० बजेसम्म उनी परिवारको सम्पर्कमा थिए।
बाढीपछि भट्टको खोजीमा परिवारसँगै स्थानीय सरकार तथा सम्बन्धित निकायले निरन्तर प्रयास गरेका थिए। तर लामो समयसम्म खोजी गर्दा पनि उनको कुनै अत्तोपत्तो लाग्न सकेन।
अन्ततः फर्केर आउने आशा अधुरै रहेपछि परिवारले धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेको हो। आफन्तहरूले लामो समयसम्म रञ्जन फर्किएर आउने आशा गरिरहेका थिए। तर कुनै खबर नआएपछि आज परिवारले भारी मनका साथ अन्तिम संस्कार गर्नुपरेको छ।
रञ्जनको अन्त्येष्टिसँगै परिवारले उनको भौतिक उपस्थितिबिनै संस्कार पूरा गर्नुपरेको छ। बाढीमा बेपत्ता भएका आफ्ना प्रियजनको खोजीमा रहेका अन्य परिवारका लागि पनि यस्ता घटनाले पीडा थपेको छ।