४ असोज काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने पार्टीका नेता–कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै लामिछानेले विपद्का कारण सर्वस्व गुमाएका नागरिकले राज्यसँग आक्रोश पोख्नु स्वाभाविक भएको बताए। पीडित नागरिकको आक्रोशलाई गलत व्याख्या गर्दै सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने तथा उनीहरूलाई होच्याउने काम स्वीकार्य नहुने उनको भनाइ थियो।
‘नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन,’ लामिछानेले भने।
उनले रास्वपाका कुनै पनि तहका सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङमा संलग्न भएको पाइए तत्काल पार्टीबाट निष्कासन गरिने स्पष्ट पारे।
‘यदि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको सदस्य, पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइयो भने त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिनेछ,’ उनले भने।
लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने अन्धसमर्थक पार्टीलाई आवश्यक नरहेको बताउँदै शोक र पीडामा रहेका नागरिकको पक्षमा उभिने सदस्य आवश्यक रहेको धारणा राखे।
उनले सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा विपद्का पीडितलाई लक्षित गरी तुच्छ टिप्पणी र कटाक्ष गर्ने काम तत्काल रोक्नसमेत आग्रह गरेका छन्।
यसै क्रममा लामिछानेले पछिल्लो बाढीपहिरोलाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने भन्दै सरकारले विपद्को प्रकृति र कारणबारे विशेषज्ञ अध्ययन गराउनुपर्ने धारणा पनि राखेका छन्।