४ भदौ गोरखा । सुलिकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा विभिन्न सेवा केन्द्रमा निर्धारित कार्यक्रमअनुसार सम्पन्न भएको छ। साधारण सभामा संस्थाको आर्थिक तथा वित्तीय प्रगति, आगामी कार्ययोजना, कर्जा लगानी र सदस्यकेन्द्रित सेवा विस्तारका विषयमा छलफल गरिएको छ।
संस्थाको सञ्चालक समितिको निर्णयअनुसार असोज २ गते बारपाक सेवा केन्द्र, असोज ३ गते सौरपानीस्थित मुख्य कार्यालय तथा असोज ४ गते ताकुकोट र देउराली सेवा केन्द्रमा साधारण सभा आयोजना गरिएको हो। सम्बन्धित सेवा केन्द्रअन्तर्गतका शेयर सदस्यहरूको सहभागितामा साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ।
साधारण सभामा आर्थिक वर्ष २०८२ र ०८३ को संस्थागत प्रगति, वित्तीय अवस्था, ऋण लगानी तथा असुली, लेखा तथा सुपरिवेक्षण, ऋण समिति र लेखापरीक्षणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णय तथा अनुमोदन गरिएको छ।
त्यस्तै, आर्थिक वर्ष २०८३ र ०८४ का लागि प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेटसमेत प्रस्तुत गरी छलफल गरिएको थियो।
शेयर सदस्य र वित्तीय कारोबारमा वृद्धि
वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२ र ०८३ मा संस्थाले शेयर सदस्य विस्तार तथा वित्तीय कारोबारमा उल्लेख्य प्रगति गरेको छ। संस्थाको शेयर सदस्य संख्या १ हजार ५०० बाट बढेर १ हजार ९०६ पुगेको छ।
त्यसैगरी, संस्थाको शेयर पूँजी २ करोड ५० लाख ९५ हजार ९०० रुपैयाँबाट बढेर २ करोड ७६ लाख ४१ हजार १०० रुपैयाँ पुगेको छ। बचत रकम ४ करोड ७५ हजार ५०७ रुपैयाँबाट बढेर ५ करोड १९ लाख ५८ हजार ९८५ रुपैयाँ पुगेको छ।
संस्थाको ऋण लगानीसमेत बढेको छ। प्रतिवेदनअनुसार ऋण लगानी ३ करोड ७० लाख ७३ हजार ३१० रुपैयाँबाट बढेर ४ करोड ९२ लाख ६ हजार ८८९ रुपैयाँ पुगेको छ। संस्थाको कुल पूँजी ८ करोड ५१ लाख ५८ हजार ७६६ रुपैयाँ पुगेको जनाइएको छ।
उत्पादनमूलक क्षेत्रमा कर्जा र सदस्यकेन्द्रित सेवा प्राथमिकतामा
साधारण सभामा आगामी दिनमा सदस्यकेन्द्रित सेवा विस्तारलाई प्राथमिकता दिने विषयमा छलफल भएको छ। गुणस्तरीय तथा उत्पादनमूलक कर्जा लगानी, प्रभावकारी ऋण असुली, बचत वृद्धि तथा सदस्यहरूको आयआर्जनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्ने लक्ष्य संस्थाले लिएको छ।
त्यस्तै, कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण, कृषि एम्बुलेन्स सेवा, उपभोग्य वस्तुको कारोबार, डिजिटल सेवा तथा सेवा केन्द्रको सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल गरिएको छ।
संस्थाले आर्थिक वर्ष २०८३ र ०८४ मा सदस्य संख्या थप विस्तार गर्ने, बचत वृद्धि गर्ने, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने तथा कृषि उपजको खरिद र बजारीकरणमार्फत सदस्यहरूको आयआर्जनमा सहयोग पुर्याउने लक्ष्य लिएको छ।
साधारण सभाले सहकारितामार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक विकास गर्ने संस्थाको उद्देश्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण समिति, कर्मचारी, टोल समिति, सेवा केन्द्र सहयोग समिति तथा सम्पूर्ण शेयर सदस्यलाई संस्थाको आगामी कार्ययोजनामा सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।