५ भदौ काठमाडौं — त्रिपुरेश्वरमा बसभित्रै आगो लगाएका चालकको घटनाअघि ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ। हर्न बजाएको विषयमा भएको विवादपछि ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा चालक आक्रोशित बनेको र केही समयपछि बसभित्रै आगो लगाएको बताइएको छ।
ऋद्धिसिद्धि यातायातका सञ्चालक तथा बसधनी लव केसीका अनुसार सोमबार बिहान करिब १० बजे त्रिपुरेश्वर चोकमा हर्न बजाएको विषयमा चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। ट्राफिक प्रहरीले कारबाही गर्न खोजेपछि चालकले आफ्नो गल्ती नभएको भन्दै प्रतिवाद गरेको केसीले बताए।
केसीका अनुसार घटनाबारे उनलाई बिहान ११ बजेदेखि साढे ११ बजेको बीचमा डीएसपीले फोन गरेर जानकारी गराएका थिए। त्यसपछि उनले चालकलाई फोन गरी घटनाबारे बुझ्दा चालकले आफूलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको र ‘ह्यारेसमेन्ट’ गरेको गुनासो गरेका थिए।त्यस क्रममा चालकले आफूलाई बग्गीखाना पठाइए ‘लास’ हुने भन्दै आत्महत्या गर्ने संकेत दिएको केसीको भनाइ छ।
चालकबाट यस्तो कुरा सुनेपछि आफूले तत्काल सम्बन्धित डीएसपीलाई जानकारी गराउँदै सुरक्षा निकाय परिचालन गर्न आग्रह गरेको केसीले बताए। उनका अनुसार उनले आफ्ना कर्मचारीमार्फत ट्राफिक प्रहरीको १०३ नम्बरमा समेत फोन गरी चालकले आत्महत्याको कुरा गरिरहेको र त्रिपुरेश्वरमा रहेको बसमा सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका थिए।
तर, आफूले जानकारी गराएको करिब २५–३० मिनेटपछि बसभित्रै आगलागी भएको केसीले बताए। आगलागीमा चालक घाइते भएको र उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको उनले जानकारी दिए। आगलागीबाट बस पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ।
केसीले चालकको कुनै पारिवारिक वा आर्थिक समस्या आफूलाई जानकारी नभएको दाबी गरेका छन्। उनका अनुसार चालक अविवाहित थिए र पछिल्लो दुई–तीन महिनादेखि उक्त बस चलाउँदै आएका थिए। आफूले समेत उक्त बस किनेको करिब एक महिना मात्रै भएको उनले बताए।
घटनाको मुख्य कारण आर्थिक वा लेनदेन नभएको पनि केसीले स्पष्ट पारे। उनका अनुसार रुटबाट फर्किने क्रममा हर्न बजाएको विषयलाई लिएर ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्न खोजेको र चालकले आफ्नो गल्ती नभएको भन्दै प्रतिवाद गरेका थिए।
‘मेरो गल्ती नभइकन मलाई यस्तो गरियो’ भन्दै चालकले आफूलाई गुनासो गरेको केसीको भनाइ छ। उनका अनुसार चालकले आत्महत्या गर्ने संकेत दिएपछि घटना हुनुअघि नै आफूले सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराएका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। चालकले बसभित्रै आगो लगाउनुको वास्तविक कारण, ट्राफिक प्रहरीसँग भएको विवादको प्रकृति तथा घटनाअघि सुरक्षा निकायलाई गरिएको सूचनामाथि पनि अनुसन्धान हुने बताइएको छ।