७ भदौ काठमाडौँ । गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीस्थित नगरपालिकाको स्वामित्वमा रहेको १३० युनिट भवन सशस्त्र प्रहरी बल नेपाललाई प्रयोगका लागि उपलब्ध गराउने सम्झौता भएको छ। पालुङटार नगरपालिका र सशस्त्र प्रहरी बल नेपालबीच भवन तथा भौतिक संरचना प्रयोगसम्बन्धी सम्झौता भएको हो।
सम्झौताअनुसार पालुङटार नगरपालिका–७ साविक च्याङ्ली गाविसमा रहेको कित्ता नं. १२४२ को जग्गामा निर्मित १३० युनिट Low Cost Building सहितको भौतिक संरचना सशस्त्र प्रहरी बल नेपाललाई उपलब्ध गराइनेछ। उक्त संरचना विपद् व्यवस्थापनसम्बन्धी तालिम, प्राविधिक शिक्षालय तथा विद्यालय सञ्चालनलगायत नेपाल सरकारबाट तोकिएका कानुनबमोजिमका कार्यमा प्रयोग गरिने सम्झौतामा उल्लेख छ।
सम्झौतामा पालुङटार नगरपालिकाका तर्फबाट नगर प्रमुख विवस चिन्तनले प्रथम पक्षका रूपमा हस्ताक्षर गरेका छन्। नगर उपप्रमुख वन्दना पाण्डे साक्षीका रूपमा सहभागी थिइन्।
त्यस्तै, दोस्रो पक्षका रूपमा सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीका सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविण कडेलले हस्ताक्षर गरेका छन्। सशस्त्र प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेल साक्षीका रूपमा सहभागी भएका थिए।
पालुङटार नगर कार्यपालिकाको १२४औँ बैठकको निर्णयअनुसार प्रचलित कानुन तथा मालपोतसम्बन्धी व्यवस्थालाई आधार मानी सम्झौता गरिएको नगरपालिकाले जनाएको छ। सम्झौताअनुसार सशस्त्र प्रहरीले उपलब्ध संरचनालाई आवश्यकताअनुसार आन्तरिक रूपमा फेरबदल गर्न तथा खाली जग्गामा आवश्यक भौतिक संरचना निर्माण गर्न सक्ने व्यवस्था गरिएको छ।
सम्झौताले पालुङटार नगरपालिका र सशस्त्र प्रहरीबीच विपद् व्यवस्थापन, तालिम तथा प्राविधिक शिक्षाको क्षेत्रमा सहकार्य र समन्वयलाई समेत प्राथमिकता दिएको छ। दुवै पक्षबीच विभिन्न कार्यक्रम, तालिम, प्रशिक्षण तथा अभिमुखीकरण सञ्चालन गर्नुका साथै अनुभव आदान–प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी अभियानसमेत संयुक्त रूपमा सञ्चालन गर्न सकिने सम्झौतामा उल्लेख छ। यसबाट स्थानीय तह र सुरक्षा निकायबीच विपद् व्यवस्थापन तथा जनशक्ति विकासका क्षेत्रमा सहकार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।सम्झौता दुवै पक्षबीच हस्ताक्षर भएको मितिदेखि लागू हुने जनाइएको छ। सम्झौतामा उल्लेखित विषयमा कुनै विवाद उत्पन्न भएमा प्रारम्भिक चरणमा दुवै पक्षको संयुक्त बैठकबाट समाधान गर्ने व्यवस्था गरिएको पालुङटार नगरपालिकाले जनाएको छ।