११ असोज काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनका लागि ७ लाख ८३ हजार ८३६ क्रियाशील सदस्यको विवरण टुंग्याएको जनाएको छ। संस्थापन पक्षसँग समानान्तर रूपमा महाधिवेशनको तयारी गरिरहेको देउवा पक्षले शनिबार क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्नुका साथै नयाँ अनलाइन पोर्टलसमेत सार्वजनिक गरेको हो।
काठमाडौंको महाराजगञ्जस्थित चुनदेवी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन तयारी समितिका संयोजक डा। शशांक कोइरालाको उपस्थितिमा क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई बुझाइएको थियो।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार कुल सदस्यतामध्ये ५ लाख ७३ हजार २६९ जना पुराना सदस्यको नवीकरण गरिएको छ भने २ लाख १० हजार ५६७ जना नयाँ सदस्य थपिएका छन्।
पौडेलले विगतका महाधिवेशनमा क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको उल्लेख गर्दै यसपटक त्यस्तो समस्या नदोहोरियोस् भनेर सदस्यताको विवरण व्यवस्थित गरी निर्वाचन समितिलाई हस्तान्तरण गरिएको बताए।
अनलाइनबाटै क्रियाशील सदस्यता
देउवा पक्षले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ। सोही क्रममा नयाँ वेबसाइट सार्वजनिक गरिएको छ, जसबाट आगामी दिनमा क्रियाशील सदस्यताका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको बताइएको छ।
वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले चार दिनमै वेबसाइट तयार गरिएको जानकारी दिँदै साइबर सुरक्षालाई विशेष प्राथमिकता दिइएको बताए। हाल नयाँ सदस्यता प्रक्रियामा केन्द्रित वेबसाइटलाई आगामी दिनमा थप व्यवस्थित र विस्तार गर्ने तयारी रहेको जनाइएको छ।
असोज १५ देखि वडा अधिवेशन
निर्वाचन समितिका संयोजक एकराज पोखरेलले घोषित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाइने बताए। उनका अनुसार असोज १५ गतेदेखि देशभर वडा अधिवेशन सुरु हुनेछ। अधिवेशनका नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए।
देउवा पक्षले मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। यसअघि नै देशभर केन्द्रीय प्रतिनिधि परिचालन गर्नुका साथै ५५ जिल्लामा महाधिवेशन तयारीका लागि संयोजक तोकिएको छ।
वडादेखि केन्द्रसम्म युवाको प्रतिनिधित्व
महाधिवेशन तयारी समितिले सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका एक महिला र एक पुरुष नवयुवाको प्रतिनिधित्व अनिवार्य गर्ने व्यवस्था निर्वाचन निर्देशिकामा समेटेको जनाएको छ। यस व्यवस्थाले वडा तहदेखि केन्द्रसम्म युवा प्रतिनिधित्व सुनिश्चित गर्ने देउवा पक्षको तयारी छ।
गगन पक्षको महाधिवेशन असोज १६ देखि
यसैबीच, पार्टी सभापति गगन थापा नेतृत्वको पक्षले भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाइरहेको छ। उक्त पक्षले वडा अधिवेशन सम्पन्न गरिसकेको र अन्य तहका अधिवेशन प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
दुवै पक्षले छुट्टाछुट्टै कार्यतालिका र क्रियाशील सदस्यता व्यवस्थापन अघि बढाएपछि कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र सदस्यताको वैधतालाई लिएर मतभेद कायम छ। देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै समानान्तर रूपमा महाधिवेशनको तयारी गरिरहेको छ।
यसरी एउटै पार्टीभित्र दुई पक्षले फरक–फरक मिति, सदस्यता विवरण र अधिवेशन संरचनासहित प्रक्रिया अघि बढाएपछि १५औँ महाधिवेशनको स्वरूप र त्यसबाट आउने संगठनात्मक परिणामबारे कांग्रेसभित्र बहस जारी छ।