११ असोज काठमाडौं । नेपाल सरकारका सहसचिव, हुलाकी राजमार्ग आयोजनाका प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका सीईओ वरिष्ठ इन्जिनियर कुबेर नेपालीको डेब्यू अभिनय रहेको प्रेमिल म्युजिक साँची राखी माया मेरो भिडियो छिट्टै सार्वजनिक हुने भएको छ।
कुबेर नेपालीको पहिलो अभिनय रहेको उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक गर्ने तयारी गरिएको हो। भिडियोमा नेपालीसँगै झरना रिशालको समेत अभिनय रहेको छ।
म्युजिक भिडियोमा लोकप्रिय संगीतकार राजेन्द्र बजगाईंको संगीत, सुजाता केसी र सविन सुवेदीको युगल गायन तथा गजेन्द्र रञ्जितको शब्द रहेको छ। गीतको म्युजिक भिडियो एभरेष्ट ग्यालरीले निर्माण गरेको जनाइएको छ।
प्रशासनिक तथा प्राविधिक क्षेत्रमा सक्रिय रहँदै आएका कुबेर नेपालीले पहिलोपटक अभिनयमार्फत सांगीतिक क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाउन लागेका हुन्। वरिष्ठ इन्जिनियर तथा कलाप्रेमी व्यक्तित्वका रूपमा परिचित नेपालीको डेब्यू अभिनय रहेको भिडियोले दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ।
म्युजिक भिडियो निर्माणका क्रममा गीत, संगीत, अभिनय, छायांकन तथा प्राविधिक पक्षमा विभिन्न कलाकार तथा स्रष्टाको योगदान रहेको निर्माण पक्षले जनाएको छ।निर्माण पक्षले म्युजिक भिडियो तयार पार्ने क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र योगदान गर्ने सम्पूर्ण स्रष्टा, प्राविधिक तथा कलाकारप्रति धन्यवाद व्यक्त गरेको छ।
भिडियो सार्वजनिक हुने मिति भने छिट्टै घोषणा गरिने जनाइएको छ। निर्माण पक्षले दर्शक तथा शुभेच्छुकको निरन्तर माया, साथ, सहयोग र शुभेच्छाको अपेक्षा गरेको छ।