१६ असोज काठमाडौं । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले शुक्रबार एक कार्यक्रम आयोजना गरी पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र बम्पर उपहारतर्फ एक जना गरी १६ जना विजेता घोषणा गरेको हो ।
विभागका अनुसार १५ जना विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार पाएका छन् भने बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गरेका छन् ।
बम्पर उपहारअन्तर्गत नेपाल पेट्रो ल्युब प्राइभेट लिमिटेडबाट २१ हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहक विजेता बनेका छन् । विभागका अनुसार कुपन नम्बर ०७३११०२०२५०१ का ग्राहकले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन् ।
करदातालाई कर तिर्न प्रोत्साहित गर्ने तथा विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले चालू आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको हो ।
कार्यक्रमअन्तर्गत विभिन्न अवधिमा करदाताले प्राप्त गर्ने कुपनका आधारमा पुरस्कार प्रदान गरिने विभागले जनाएको छ । यसबाट करदातालाई करसम्बन्धी दायित्व पूरा गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।