१९ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी दिनका लागि निर्वाचन समितिले शुल्क निर्धारण गरेको छ। खुलामञ्चमा जारी महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचनसम्बन्धी कार्यक्रम सुरु हुँदैछ भने मनोनयन दर्ता भोलि बिहानदेखि सुरु हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै उपसभापति र महामन्त्री पदका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ।
मनोनयन दर्ताका क्रममा प्रत्येक पदका लागि प्रस्तावक र समर्थकको संख्या पनि तोकिएको छ। सभापति पदका उम्मेदवारका लागि १० जना प्रस्तावक र १० जना समर्थक अनिवार्य गरिएको छ।
त्यस्तै उपसभापति र महामन्त्री पदका लागि ७र७ जना प्रस्तावक र समर्थक, सहमहामन्त्री पदका लागि ५र५ जना प्रस्तावक र समर्थक तथा केन्द्रीय सदस्य पदका लागि ३र३ जना प्रस्तावक र समर्थक हुनुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार उम्मेदवारले आफू उम्मेदवार हुन चाहेको पदमा अर्को उम्मेदवारको हकमा प्रस्तावक वा समर्थक बस्न पाउने छैनन्। अर्थात् आफूले उम्मेदवारी दिएको एउटै पदका अर्को व्यक्तिको प्रस्तावक वा समर्थक बन्न नपाइने व्यवस्था गरिएको हो।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेसँगै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि तीव्र बनेको छ। मनोनयन दर्तापछि उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक हुने र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।महाधिवेशनबाट कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ। सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुनेछ।