१९ असोज काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिन लागेको बताएका छन्।
गोरखा–२ बाट महाधिवेशन प्रतिनिधि रहेका पाण्डेले पार्टीको संगठनलाई बलियो बनाउँदै कांग्रेसलाई थप प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यसहित नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सोमबार सम्पन्न भएको छ। आज बन्दसत्रको कार्यक्रम हुँदैछ भने भोलि उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
कांग्रेसको नयाँ विधानअनुसार पार्टीमा एक वरिष्ठ उपसभापतिसहित चार जना उपसभापति रहने प्रस्ताव गरिएको छ। सोही संरचनाअनुसार उपसभापति पदमा नेताहरूले उम्मेदवारीको तयारी गरिरहेका छन्।गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा कार्यरत पाण्डे कांग्रेसको केन्द्रीय राजनीतिमा समेत सक्रिय रहँदै आएका छन्। १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेसँगै कांग्रेसको नेतृत्व चयनमा उनको दाबी औपचारिक रूपमा अघि आएको छ।