२१ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट यसैपटक सिर्जना गरिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। मंगलबार भएको उम्मेदवारी मनोनयनका क्रममा वरिष्ठ उपसभापतिमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वरिष्ठ उपसभापतिका लागि तोकेको समयभित्र शर्माको एकल उम्मेदवारी परेको जनाएको छ। यसअघि कांग्रेसमा वरिष्ठ उपसभापतिको पद थिएन। पार्टीको संशोधित विधानअनुसार १५औँ महाधिवेशनबाट यो पद सिर्जना गरिएको हो।
शर्मा यसअघि २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। १४औँ महाधिवेशनमा उनी नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए। त्यही निर्वाचनमा शेखर कोइरालाको प्यानलबाट गगनकुमार थापा पनि महामन्त्री निर्वाचित भएका थिए।
फरक प्यानलबाट महामन्त्री निर्वाचित भएका शर्मा र थापाको अग्रसरतामा गत पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो। उक्त विशेष महाधिवेशनबाट थापा सभापति र शर्मा उपसभापतिमा निर्वाचित भएका थिए। अहिले १५औँ महाधिवेशनमा थापा सभापति पदका उम्मेदवार छन् भने शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध भएका हुन्।
१४औँ महाधिवेशनमा शर्मा र थापाको प्यानललाई नेतृत्व गरेका प्रकाशमान सिंह र शेखर कोइराला भने विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्। अहिले सिंह पूर्वसभापति शेरबहादुर देउवा समूहसँग रहेर समानान्तर महाधिवेशनमा सक्रिय छन् भने कोइराला तटस्थ भूमिकामा छन्।
विद्यार्थी राजनीतिबाट कांग्रेसको शीर्ष नेतृत्वसम्म
झापाका शर्मा विद्यार्थी राजनीतिबाट कांग्रेसको नेतृत्वमा उदाएका नेता हुन्। उनले विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघ ९नेविसंघ०को राजनीतिमा सक्रियता सुरु गरेका थिए। उनको राजनीतिक विवरणअनुसार २०४० सालमा धुलाबारी माध्यमिक विद्यालयको नेविसंघ इकाइ सभापति बनेका शर्मा २०४७ सालमा नेविसंघ झापा जिल्ला सभापति भएका थिए। त्यसपछि उनी नेविसंघको केन्द्रीय सदस्य, महामन्त्री हुँदै २०५७ सालमा केन्द्रीय सभापति बने।
नेविसंघको अध्यक्ष हुँदा गगनकुमार थापा उनको कार्यसमितिमा उपसभापति थिए। त्यसयता विद्यार्थी राजनीतिबाट उदाएका यी दुई नेता कांग्रेसको केन्द्रीय राजनीतिमा पनि सँगसँगै अघि बढ्दै आएका छन्।
शर्मा २०७२ सालको कांग्रेस महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यसपछि २०७४ सालमा उनलाई तत्कालीन सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए। पछि उनी कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको नेतृत्वमा समेत रहे।
१४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित हुँदै पार्टीको केन्द्रीय नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका शर्मा विशेष महाधिवेशनबाट उपसभापति हुँदै अहिले वरिष्ठ उपसभापतिमा निर्विरोध भएका छन्।यससँगै कांग्रेसको नयाँ नेतृत्व संरचनामा शर्माले वरिष्ठ उपसभापतिको जिम्मेवारी सम्हाल्ने भएका छन्। १५औँ महाधिवेशनमा अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा कायम रहेको छ।